राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : ४२ औं विपी स्मृति दिवसका अवसरमा आज नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं २ प्रदेश सभा (क) को आयोजनामा बाढीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । बेदकोट नगरपालिका ७ शान्ति टोल, शुक्लाफाँटा नगरपालिका ११ वनहरा शिविर र कृष्णपुर नगरपालिका १ मोतीपुरका बाढीबाट प्रभावित परिवारलाई राहत समग्री वितरण गरिएको हो । बाढीबाट प्रभावितभै स्थानिय दुई वटा विद्यालयमा शरण लिएर बस्दै आएका आठ परिवारलाई वडा अध्यक्ष थानेश्वर भट्ट मार्फत चामल, दाल, तेल, नुन, त्रिपाल, आलु लगायतका सामग्री वितरण गरिएको निर्वाचन क्षेत्र नं २ (क)का सभापती झंकर बहादुर खडकाले बताउनु भयो । उहाँका अनुसार शुक्लाफाँटा नगरपालिका ११ वनहरा शिविरका बाढीबाट प्रभावित २८ परिवारलाई शिविरमै पुगेर राहत सामग्री वितरण गरिएको छ ।


असार २३ गते घर भित्रै पसेको बाढीको पानीमा डुवेर सात महिने शिशु गुमाएकी संगीता धानुकलाई राहत सामग्री वितरण गरिएको सभापती खडकाले बताउनु भयो । राहत सामग्री वितरण कार्यक्रममा सहभागी नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं २ का सभापती लाल बहादुर सिंहले महामानव विपि कोइरालाको स्मृति दिवसका अवसर पारेर बाढीको चपेटामा परेका परिवारलाई थोरै भएपनि सहयोग गरिएको बताउनु भयो । “निर्वाचन क्षेत्रका धेरै जना असार २३ र २४ गतेको बाढीबाट प्रभावित भएका छन” उहाँले भन्नुभयो, “सहयोग रकम जुटाएर आवश्यकता भएका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्छौ ।”


बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले बाढी प्रभाावित परिवाारलाई राहत सामग्री उपलव्ध गराउनका लागि कार्य अगाडी बढाईने बताउनु भयो । राहत वितरण कार्यक्रममा महासमिति सदस्य लेखराज जोशी, शुक्लाफाँटा नगरपालिकाका नगर उप प्रमुख कल्पा पन्त, कृष्णपुर नगरपालिकाका नगर उप प्रमुख द्रोपती राना, जिल्ला समन्वय समिति कञ्चनपुरका उप प्रमुख राम कुमारी राना, सदस्य जय सिंह बिष्ट, निर्वाचन क्षेत्र नं २ (क)का उप सभापती उत्तमराज भट्ट ,सुप प्रदेश कमिटि सदस्य कलावती बोहरा लगायतको उपस्थीति रहेको थियो । पार्टीको सुदूरपश्चिम प्रदेश समिति, जनप्रतिनिधिबाट सहयोग रकम सङकलन गरी राहत सामग्री खरिद गरी वितरण गरिएको बताइएको छ ।







