कञ्चनपुर : निर्माण व्यवसायी सम्पर्क विहीन भएपछि शुक्लाफाँटा नगरपालिका ४ को वडा कार्यालय भवन निर्माणको कार्य अलपत्र परेको छ । अढाई तले भवन निर्माणको कार्य अलपत्र छाडेर सुरज कन्ट्रक्सनका निर्माण व्यवसायी दुई महिना देखि सम्पर्क विहीन भएका छन । वडा कार्यालय भवनको पहिलो तलाको छतको ढलाई गर्न सटरिङको कार्य विचमै छाडेर निर्माण व्यवसायी सम्पर्क विहीन भएको वडा अध्यक्ष कमल ठकुल्लाले बताउनु भयो । “धेरै पटक फोन सम्पर्क गर्न खोजेपनि सम्पर्कमा आएका छैनन्” उहाँले भन्नुभयो, “मोवाईल फोनको घण्टी बज्छ फोन उठदैन् ।”

निर्माणको कार्य हुन नसकेपछि संघीय र प्रदेशबाट सो भवन निर्माणका लागि प्राप्त रकम फिर्ता(फ्रिज) जाने भएको उहाँले बताउनु भयो । नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीले भवन निर्माण व्यवसायीलाई बारम्वार ताकेता गर्दा पनि सम्पर्कमा नआएको बताउनु भयो । “भवन निर्माणका लागि रु नौ लाख बढी रकम भुक्तानी भैसकेको छ” उहाँले भन्नुभयो, “निर्माण व्यवसायी सम्पर्कमा नआउदा भवन निर्माणको कार्य अगाडी बढन सकेको छैन ।” भवन निर्माण गर्ने म्याद आउदो माघ महिना सम्म रहेको उहाँले बताउनु भयो । निर्धारित म्याद भित्र भवन निर्माणको कार्य पुरा नगर्ने निर्माण व्यवसायीलाई कालोसूचिमा राखेर कारबाही प्रकृया अगाडी बढाईने उहाँले उल्लेख गर्नु भयो । वडा कार्यालय भवन निर्माणका लागि तराई मधेश समृद्धि कार्यक्रमको रु २५ लाख सो अनुदानमा नगरपालिकाको ३० प्रतिशत अर्थात रु १० लाख ७१ हजार चार सय २८ साझेदारी रहेको छ ।

प्रदेश समपूरक अनुदान अन्र्तगत रु ४२ लाख, नगरपालिकाबाट साझेदारी थप रु ४२ लाख (५० प्रतिशत) रकम जम्मा गरी रु एक करोड १९ लाख ७१ हजार चार सय २८ रकम वडा कार्यालय भवन निर्माणका लागि विनियोजन भएको छ ।
मूल्य अभिबृद्धि कर र कन्टेन्जेन्सी सहित जम्मा रकम रु एक करोड ६७ लाख ७४ हजार तीन सय १५ रकम भवन निर्माणका लागि कायम भएको भौतिक पूर्वाधार शाखाका प्रमुख इन्जिनियर धामीले बताउनु भयो । लागत अनुमानमा अपुग रकम रु ४८ लाख दुई हजार एक सय ६६ रकम मात्रै नगरपालिको व्यहोर्ने नगर प्रमुख स्तरीय निर्णयलाई कार्यपालिकाले अनुमोदन गरिएको छ । जस मध्ये भवन निर्माणका लागि इ विड मार्फत रु एक करोड एक लाखमा भवन निर्माण गर्नका लागि ठेक्का सम्झौता भएको छ ।







