कञ्चनपुर : कञ्चनपुरका एक बालक कठोर किरियामा बसेका छन । भीमदत्त नगरपालिका १३ बडैपुरका भावेस धामी आमाको किरियामा बसेका हुन । आमाको दुधबाट छुटेको छोटो समयमै ९ बर्षिया बालक भावेसलाई दैब लागेपछि बाल्यकालमै आमाको किरिया गर्न बाध्य भएका छन । आमाकै कोखमा हुर्किने उमेरमै भावेसलाई किरिया गर्नुपर्ने परिस्थिति आएको छ । क्यान्सर रोगसंग लडिरहेकी भावेसकी आमा मञ्जु कुमारी साउद(धामी)को २ असार ०८१ काठमाण्डौँमा निधन भएको थियो । भावेसले आमा अल्पआयु ४४ बर्षकै उमेरमा गुमाएपछि धार्मिक परम्परा अनुरुप कठोर किरिया गर्न लागेका छन ।

लामो समयदेखि उपचारार्थ रहेकी मञ्जुले प्राण त्यागेकै दिन भावेसको ब्रतबन्ध गरिएको थियो । गाँउकै प्रभात विद्या निकेतन कक्षा ४ मा अध्ययनरथ भावेसले आमाप्रतिको कर्तव्य पुरा गर्नका लागि ठुला मान्छेको जस्तै कठोर किरियामा बसेका छन । भीमदत्त नगरपालिका १३ का वडा सचिव समेत रहेका भावेसका बाबु हर्क बहादुर धामीले श्रीमतीको उपचारमा ठुलो धनराशी खर्च हुँदा समेत बचाउन नसकिएको बताए ।

‘हामी श्रीमतीको उपचारमै थिए, विचमा सुधार भयो, केही आशा पलाएको थियो, तर विचमा फेरी बिग्रीयो, श्रीमतीकै आग्रह अनुरुप छोरा(भावेस)को ब्रतबन्ध पनि गरियो, छोराको ब्रतबन्ध गरेर अस्पतालकै बेडमा आमालाई टिका प्रशाद दिएपछि मञ्जुले प्राण छाडियो, हुने हार दैव नटार भनेजस्तै हाम्रो परिवारमा भयो ।

’आमाको किरियामा बसेका छोरा (भावेस)को प्रत्यक्ष निगरानी रेखदेखमा बाबु(हरक) सहितका घर परिवार खटिएका छन । घर परिवार, आफन्त एव आम नागरिक पक्षबाट अथक प्रयास गर्दा गर्दैपनि मञ्जुलाई बचाउन नसकिने भन्दै धामी परिवारले दुख व्यक्त गर्दै मञ्जुको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगी महानुभावप्रति आभार प्रकट गरेका छन ।






