कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा महिलाहरूलाई विपद् व्यवस्थापन, तथा लैङ्गिक हिंसा, न्यूनिकरणका लागि पैरवी क्षमता अभिवृद्धि तालिम दिइएको छ । शुक्रबार र शनिबार भीमदत्त नगरपालिका क्षेत्रमा महिलाहरूलाई विपद् व्यवस्थापन, तथा लैङ्गिक हिंसा, न्यूनिकरणका लागि पैरवी क्षमता अभिवृद्धि तालिम दिइएको हो । आर्दश महिला समाज नेपालले टेवा संस्थाको सहयोगमा महिलाको पैरवी क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको हो ।

आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले विपद् र लैङ्गिक हिंसा न्यूनिकरणका लागि तथा महिलाको क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ दुई दिने तालिम आयोजना गरिएको बताइन । ‘अहिले आगलागी, हावाहुरीको मौसम छ, ‘उनले भनिन, ‘केही दिनपछि बाढीपहिरोको समस्या निम्तिन्छ, त्यसैले हामीले अहिलेदेखि नै क्षमता विस्तारका लागि तालिम सञ्चालन गरेका हौँ ।’ अध्यक्ष नेगीले विगत कोरोना महामारीदेखि विभिन्न समयमा आर्दश महिला समाज नेपालले टेवा संस्थाको सहयोगमा विविध समाजिक काम गर्दै आएको बताइन् ।

सामुदायिक सुरक्षा जालोका संयोजक मञ्जु केसीले समयमै महिलाहरूलाई विपद् व्यवस्थापनदेखि लैङ्गिक हिंसा बारे तालिम लिएसँगै उनीहरू आत्मनिर्भर बन्ने र आफ्नो क्षमतासँग जुध्न सक्ने बताइन्। तालिममा सहभागि सबनम सिनालले एकै पटक दुई विषय सँगै राखेर सञ्चालन गरिएको तालिमबाट थप सिकाइ भएको र यसले व्यवसायिक जीवनमा समेत सहयोग पुग्ने बताइन् ।

तालिमका अन्य सहभागीहरूले पनि समयमै दुवै तालिम एकै पटक पाएपछि एकातिर विपद्का बेला महिला सुरक्षा र अर्कातिर लैङ्गिक हिंसा न्यूनिकरणमा सहजता हुने बताएका छन् । तालिममा जनज्योति बहुमुखी क्याम्पसका प्रजापति नेगी र समाजसेवी भगवती थापाले प्रशिक्षण गरेका थिए।






