वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा शुक्लाफाँटा नगरपालिकाको प्रदेशमै उच्चतम अङ्क


राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन(एफआरए)मा शुक्लाफाँटा नगरपालिकाले सुदूरपश्चिम प्रदेशका पालिकाहरु मध्ये उच्चतम अंक प्राप्त गरेको छ । स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ अनुसार निर्धारण गरिएको मूल्याङ्ककनको बिषय क्षेत्र,तह र सूचकहरुमा नगरपालिकाले ९० अङ्कभार प्राप्त गरेको हो । नगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत तथा हालका शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टका अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले गत आर्थिक वर्षको हालै प्रकासन गरेको नतिजा अनुसार नगरपालिकाले योजना, बजेट तथा कार्यक्रममा १७ दशमलव ५, व्यवस्थापन,कार्यान्वयन क्षमता तथा व्यवस्थापमा २४, लेखाङ्कन तथा प्रतिवेदनमा १७, अनुगमन, मूल्याङ्ककन तथा लेखापरीक्षणमा १५ राजस्व व्यवस्थापनमा १६ दशमलव ५ अङ्क प्राप्त गरेको छ ।

वित्तीय सुशासनको लेखाजोखाको बर्गिकरणमा ४० सम्म अङ्कभार ल्याउनेलाई उच्च जोखिम, ४१ देखि ८० अङ्कभार ल्याउनेलाई मध्य जोखिम र ८१ भन्दा माथिको अङ्कभार ल्याउनेलाई न्यून जोखिम राखिने गरिएको छ । “लेखाजोखाको बर्गिकरणमा उच्चतम अङ्क ल्याएकाले वित्तीय सुशासनमा न्यून जोखिम भएको नगरपालिका बनाउन सकेका छा”ैं नगर उप प्रमुख कल्पना पन्तले भन्नुभयो, “अझै वित्तीय प्रणालीलाई व्यवस्थीत, पारदर्शी, विधि सम्मत बनाएर लैजान्छौं ।” वित्तीय सुशासन कायम गरी ऐन कानुन सम्मत रुपमा नगरपालिकालाई अगाडी बढाउदा उच्चतम अंक ल्याउन सकिएको उहाँको भनाई रहेको छ । स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन(एफआरए) मा शुक्लाफाँटा पछि कञ्चनपुरको बेदकोट नगरपालिकाले ८४ दशमलव ५ अङ्क प्राप्त गरेको छ । यसैगरी, पुर्नवास नगरपालिकाले ७९ दशमलव ५ लालझाडी गाउँपालिकाले ७७ दशमलव ५, बेलडाँडी गाउँपालिकाले ६८ दशमलव ५, बेलौरी नगरपालिकाले ६७ दशमलव ५, भीमदत्त नगरपालिकाले ६० र दोधारा चाँदनी नगरपालिकाले ५७ अङ्क प्राप्त गरेको छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा स्थानीय तहहरुले गरेका कामको आधारमा मन्त्रालयले बजेट पठाउने गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img