झलारी : कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका ७ स्टेशनपुरमा शनिवार देउडा कार्यक्रमको आयोजना गरियो । संस्कृति संस्कृति संरक्षण प्रतिष्ठान शाखा कार्यालय कञ्चनपुर तथा विणेश्वर स्टार इङ्गलिस बोर्डिङ स्कुलको संयुक्त आयोजनामा देउडा कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिष्ठान शाखा कार्यालय कञ्चनपुर अध्यक्ष गोदावरी ठगुन्ना मारकाण्डको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक कृष्ण बहादुर भण्डारी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले कला र संस्कृतिले पहिचान गराउने भएकाले यसको जगेर्नामा सबैले एकजुट भएर अगाडी बढनु पर्ने बताउनु भयो । कार्यक्रमका सभापति मारकण्डले देउडाको मौलिक पक्षलाई जोगाउनु पर्ने बताउनु भयो । देउडा संस्कृतिलाई जोगाउनका लागि ठाउ ठाउमा कार्यक्रमको आयोजना गरिन लागेको बताउनु भयो । कार्यक्रमको विशिष्ट अतिथि प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष माया जोशी पन्त, प्रतिष्ठानका केन्द्रिय लाइभ देउडा प्रमुख सल्लाहकार अम्बादत्त जोशी रहनु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनन्जय पन्त, विद्यालयका प्रवक्ता जयराज जोशी, प्रतिष्ठानका सचिव कलावती साउद, कोषाध्यक्ष रत्न भण्डारी, केन्द्रिय सदस्य दल बहादुर मल्ल, पार्वती रावल, गंगा खत्री लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा कैलाली, कञ्चनपुरबाट आएका देउडीयाहरुले पुराना भाकाहरुमा देउडा गीत पस्कीएका थिए । कार्यक्रममा सहभागीहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।