विपन्न परिवारका खरका छाना फेर्दै शुक्लाफाँटा


राजेन्द्रप्रसाद पनेरु / झलारी : गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माणका लागि अनुदान रकम उपलव्ध गराएको छ । पराल, खर,स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत अनुदान रकम उपलव्ध गराईएको हो । कार्यक्रम अन्र्तगत छाना फेर्नका निवेदन दिएका दुई सय ५४ परिवारलाई अनुदानको रकम बैंक मार्फत उपलव्ध गराईएको नगरपालिकाको कार्यक्रम सम्पर्क व्यक्ति धिरज ऐरले बताउनु भयो ।

पहिलो किस्ता वाफत पहिलो चरणमा एक सय ११ परिवार, दोश्रो चरणमा ५५ परिवार र तेश्रो चरणमा ८८ परिवारलाई रु ३० हजारका दरले अनुदान रकम उपलव्ध गराईएको उहाँले जानकारी दिनु भयो । “लाभग्राहीको सून्य मौज्दातमा बैंकमा खाता खोलेर पहिलो किस्ता वाफतको रकम उपव्ध गराएका छौं” उहाँले भन्नु भयो,“रकम उपलव्ध गराईएको तीन महिना भित्र छानामा तोकिएको मापदण्ड अनुसारको जस्तापाता राखेका परिवारलाई दोश्रो किस्ताको रकम उपलव्ध गराउने कार्य भैरहेको छ ।” नगरपालिकामा आब ०७९/८९ मा सञ्चालन भएको सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम सञ्चालन भएको पहिलो वर्षमा पहिलो किस्ताको रकम पाएका लाभग्राहीहरुलाई बजेट ढिलो गरी आउदा एक वर्ष पछि मात्रै अन्तिम किस्ताको रकम उपलव्ध गराउन लागिएको छ । आवासको छाना फेर्नका लागि कार्यक्रम अनुसार अधिकतम रु ५० हजार कम दुई किस्ताका रुपमा उपलब्ध गराउने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार पहिलो किस्ता वाफत रु ३० हजार(६० प्रतिशत) रकम पाएका परिवारलाई दोश्रो किस्ता वाफत रु २० हजार(४० प्रतिशत) रकम उपलव्ध गराउने कार्य भैरहेको सम्पर्क व्यक्ति ऐरको भनाई रहेको छ ।

उहाँका अनुसार सुरक्षित नागरिक अवास कार्यान्वयन कार्यविधि २०७५ ले निर्धारण गरेको मापदण्ड अनुसार छाना बनाउनका लागि रङ्गीन जस्तापाता २६ गेजको र काठ खरिद गर्नु पर्ने छ । प्राविधिकले कार्यविधिको अनुसूची ३ बमोजिमको प्राविधिक प्रतिवेदनसहित गरेको सिफारिसको आधारमा लाभग्राहीलाई दोस्रो तथा अन्तिम किस्ताबापतको रु २० हजार (चालिस प्रतिशत) अनुदान रकम उपलव्ध गराउने व्यवस्था रहेको छ । प्राविधिकबाट अनुुसूची तीन बमोजिम प्रतिवेदन पेस भई नगरपालिकाले प्रमाणित गरेपछि निर्माणकार्य सम्पन्न भएको मानिने छ । सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले कार्यक्रम अन्तर्गत छाना फेर्नका लागि दिएका निवेदन मध्येबाट लाभग्रही छनौट गरेको उहाँको भनाई रहेको छ । घरको छानामा पराल, खर, स्याउला, टायललगायतका आगो, पानी तथा हावाहुरीबाट सहजै प्रभावित हुनसक्ने परिवार कार्यक्रम अन्तर्गत छनौटमा परेका छन ।

“सबै नगरबासीले सुरक्षित आवासमा बस्न पाउनु पछर्, त्यो संबैधानिक अधिकार हो” नगर उप प्रमुख कल्पना पन्तले भन्नु भयो, “गरिबीको रेखामूनी रहेका सबै परिवारलाई मर्यादित रुपमा जीउने अधिकार छ, सोही अनुरुप छाना फेर्ने कार्य भैरहेको छ ।” असुरक्षित आवासमा बस्दै आएका आर्थिक अवस्थाले सुरक्षित आवास निर्माण गर्न नसक्ने परिवारको छनौट गरी छानामा जस्तापाता र काठको व्यवस्था गर्न रकम उपलब्ध गराउने कार्य भइरहेको उहाँको भनाइ छ । आगलागी तथा हावापानी थेग्न सक्ने गरी अनुदान रकमको सदुपयोग गरी विपन्न परिवारको घरको छानो फेर्ने कार्य संगै काठ, इट्टा, ढुङगा, व्लक आदीको प्रयोग गरी आवास निर्माणको कार्य गरिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img