अत्तरिया: गोदावरी नगरपालिका स्तरिय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक मंगलबार गोेदावरी नगरपालिकामा सम्पन्न भएको छ । गोदावरी नगरपालिकाका उप–प्रमुख तथा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका संयोजक शारदा देबि रोकायाको अध्यक्षतामा भएको बैठकमा आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले गोदावरी नगरपालिकामा आफन्त नेपालले गरिरहेका कार्यक्रमहरु, लक्षित समुदायलाई दिईएको सीपमुलक तालिम र क्षमता अभिबृद्धि तालिम तथा एक हप्ता भित्र प्रदान गरिने जिविकोपार्जन सहयोग बारे बैठकमा जानकारी दिएका थिए । त्यसका अतिरिक्त उहाँले कैलाली जिल्लामा खासगरी गोदावरी नगरपालिकामा मानव बेचबिखन तथा ओसार पसार र बालश्रम शोषणको अवस्था, चुनौती र समाधानकालागि सरोकारवालाहरुको भुमिका बारे प्रस्तुती गरेका थिए ।


बैठकमा ‘गोदावरी नगरपालिकाका उप–प्रमुख तथा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका संयोजक शारदा देबि रोकायाले ‘मानव बेचबिखन र बालश्रम शोषण रोकथामकालागि गोदावरी नगरपालिकासंग आफन्त नेपालले हातेमालो गरिरहेको बताउदै भन्नु भयो, ‘मानव बेचबिखन, ओसारपसार जस्तो जधन्य अपराध रोकथाम गर्न र बाल श्रमशोषण अन्त्यकालागि नगरपालिकाले बिगतमा महिला लक्षित कार्यक्रम र बालबालिका लक्षित कार्यक्रम अन्तर्गत कार्यक्रमहरु गरिरहेको भएपनि यसलाई बस्तीस्तरका जनसमुदायमा पुगाउन मानव बेचबिखन र बालश्रम शोषण बिरुद्ध कार्यरत संघसंस्थाहरुसंगको समन्वय र सहकार्य अपरिहार्य छ, त्यसैले आगामी दिनमा पनि नगरपालिकाले मानव बेचबिखन र बालश्रम शोषण नियन्त्रण गर्ने कार्यलाई प्राथमिकता दिई काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । 

उहाँले आफन्त नेपालले बालश्रमबाट उद्धार गरीएका बालिका र किशोरीहरुलाई सीपमुलक तालिम दिई जिविकोपार्जन सहयोग गर्न लागेको जानकारी पाउदा खुसी लागेको बताउदै संस्थाबाट सीपमुलक तालिम सिक्ने सवैलाई ब्यवसाय सुरुवात गर्न सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले आफन्त नेपाल संस्थाले गोदावरी नगरपालिकासंग समन्वय र सहकार्यद्धारा नै कार्यक्रम गरिरहेको स्मरण गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो’ । बैठकमा, महिला बिकास अधिकृत गोेदावरी खत्रीले ‘आफन्त नेपालले सिमानाकामा सीमा निगरानी गरेर मानव बेचबिखनको जोखिमलाई न्युनिकरण गरिरहेको बताउदै, गोदावरी नगरपालिकामा पनि समुदाय स्तरमा मानव बेचबिखन र बाल श्रमशोषण बिरुद्ध जनचेतना अभिबृद्धि गर्ने काम गरिरहेको बताउनु भयो, उहाँले भन्नु भयो, गोदावरी नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गर्ने लक्ष रहेको बताउदै आफन्त नेपाललाई पनी नगरपालिकालाई बालश्रम मुक्त घोषणा गर्ने अभियानमा सहयोग गर्न आग्रह गर्नु भयो ।


कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासुदेब भट्ट, गोदावरी नगरपालिकाका प्रशासन अधिकृत शिवराज भाट, सामाजिक बिकास अधिकृत ज्ञानेन्द्र कुमार भट्ट, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी र श्री शैलेश्वरी मा.वि. बडेहाका शिक्षक नरेन्द्रराज शर्मा लगायतले मानव बेचबिखन र बालश्रम शोषण रोकथामकालागि संघसंस्थाहरुसंगको समन्वयमा स्थानिय सरकार र संघसंस्थाहरुले खेल्नसक्ने भुमिकाका बारेमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा बिभिन्न सरकारी कार्यालय, बिद्यालय र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।






