कञ्चनपुर : आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभाको लागि तीन दलका ६ जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार मनोनयन दर्ता अनुरुप राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभाको लागि तीन दलका ६ जनाको उम्मेदवारी दर्ता भएको हो । माओवादी केन्द्रका १, काँग्रेस २ र नेकपा एमालेले ३ जनाको उम्मेदवारी दर्ता गराएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, काँग्रेसबाट बलदेव बोहरा, महिलातर्फ कैलालीकै सावित्री घिमिरेले उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए । अल्पसङ्ख्यक तथा अपाङ्गतातर्फ कैलालीका रामचन्द्र जोशी रहेका छन । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नारायणदत्त भट्ट र बलदेव बोहराले पनि उम्मेदवारी दर्ता गरेका छन । भट्ट नेपाली कांग्रेस कैलाली जिल्ला सभापति हुन् ।

उनी २०६२/६३ सालको जनआन्दोलनमा घाइते भएका थिए । बोहरा कञ्चनपुर जिल्ला विकास समितिका सभापति, २०६४ सालमा संविधानसभा सदस्य हुन् । यसअघि नेकपा माओवादी केन्द्रकी नेतृ रेनु चन्दले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छिन । चन्द माओवादी केन्द्रीय सदस्य तथा पहिलो संविधानसभा सदस्य हुन । गठबन्धनले सुदूरपश्चिममा कांग्रेसलाई अपाङ्ग र अन्यमा गरी २ र माओवादी केन्द्रलाई महिला कोटाको १ सीट दिने सहमति गरेको थियो । अन्यमा कांग्रेसका बलदेव बोहरा र एमालेका ईश्वरी खरेलबीच चुनावी प्रतिस्पर्धा हुनेछ । महिलामा माओवादीकी रेनु चन्द र एमालेकी सावित्री घिमिरे तथा अपाङ्ग अल्पसङ्ख्यकमा एमालेका रामचन्द्र जोशी र कांग्रेसका नारायणदत्त भट्ट बिच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा नेकपा एमालेका ईन्दु कडरियाको पदावधि सकिन लागेको हो । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।







