बसाई सरेर आउने चराको चहलपहलमा कमी


राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : कञ्चनपुरका तालतलैया नदी लगायतका सीमसार क्षेत्रमा बसाई सरेर हिउदका बेला आउने अप्रवासी चराको चहलपहमा कमी देखिएको छ । जलवायू परिवतर्नको असर, आहाराको कमी लगायतको कारणले बसाई सारेर आउने चराको सङ्ख्यामा कमी देखिएको हो । सीमसार क्षेत्र मानव अतिक्रमणको चपेटामा परी खुम्चीदै जानु र ताल तलैया पुरिदै जादा जलपंछीको सङख्यामा कमी देखिएको छ । “बसाई सरेर आउने चराको बासस्थान खुम्चीदै जान थालेको छ” नेपाल पंछी संरक्षण संघका चरा विज्ञ हिरुलाल डगौराले भन्नु भयो,“जलाधार क्षेत्र अतिक्रमणको चपेटामा परेका छन, निकुज भित्रका तालतलैया नगरकट र जलकुम्भी लगायका वनस्पतीका कारण पुरिदै गएका छन, बासस्थानको कमीले जलपंछीको सङख्यामा कमी देखिएको छ ।”

उहाँका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानीताल, शिकारी ताल, कालिकिच ताल नरकटले भरिन थालेको छ ।
निकुञ्ज बाहिरको बेलौरी नगरपालिका ६ भुराकोटमा पर्ने पुरैनी ताल बसाई सारेर आउने चराको मुख्य क्षेत्रका रुपमा रहेको छ । “त्यस तालमा ५५ प्रजातीका जलपंछीहरुको विगतम रेकर्ड गरिएको थियो” चरा विज्ञ चौधरीले भन्नु भयो, “अहिले त्यस तालमा २८ प्रजातीका चराहरु मात्रै देखिएका छन ।” अठ्ठाइस विघा क्षेत्रफलमा फैलिएको तालमा हरिटाउके हाँस, जुल्फे हाँस लगायत यस वर्ष नदेखिएको उहाँले बताउनु भयो । हाँस प्रजातीका चरा, सारस र भुडिफोर गरुड यस तालमा हिउदका बेला देखिने गरेका छन ।

साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलियालगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चरा जाडो छल्नका लागि हिमाल छिचोल्दै कञ्चनपुरका नदी ताल तलैया क्षेत्रमा आउने गरेका छन् । चिसो छल्न र आहारको कमी भएपछि आहारा खोज्नका लागि चरा आउने प्रक्रिया वर्षौँदेखि यहाँ निरन्तररूपमा चल्दै आएको छ । बसाइँ सारेर आउने चरामा अधिकांश जलपन्छी र शिकारी प्रजातिका रहने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निञ्कुजभित्रका शिकारी ताल,कालिकिच, बाबा ताल, सलगौडीताल, रानीताल लगायत अप्रवासी चराको गन्तव्यका रुपमा रहेको छ ।
निकुञ्ज बाहिरका बन्दाताल, महाकाली, चौधर, स्याली, सनवोरा, दोदा नदीलगायतका क्षेत्रमा पनि अप्रवासी चरा देखिने गरेका छन । असोजको पहिलो हप्तादेखि बसाइँ सारेर आउने चरा आउने क्रम पुसको दोस्रो हप्तासम्म जारी रहने गर्दछ । गर्मी बढ्न थालेपछि चैतदेखि पाहुना चरा पुरानै ठाउँमा फर्कने गरेका छन् । चराविज्ञ डगौराका अनुसार प्रतिवर्ष नेपालमा १५० प्रजातिका चरा जाडो छल्नकै लागि आउने गरेका छन् । तीमध्ये आधा हाँस प्रजातिका चरा रहने गरेका छन् ।

कञ्चनपुर, कैलालीका तालतलैया, नदी र सिमसार क्षेत्रमा ३० भन्दा बढी प्रजातिका बसाइँ सारेर आउने चराको सङ्ख्या देखा पर्ने गरेको छ । उहाँका अनुसार मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दूरे हाँस, कैले टाउके हाँससहितका जीवल फिस्टो, डुवुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राई, मोटोठाँडे, ट्याकट्याकेलगायतका बसाइँ सारेर आउने चरा यहाँका देखिने गरेका छन् । “निञ्कुज क्षेत्रभित्रका तालतलैया क्षेत्र चराका लागि सुरक्षित भए पनि निकुञ्ज बाहिर रहेका तालतलैयालाई माछापालनका लागि ठेक्कामा दिने चलन बढ्दै गएकाले हिउँदे बसाइँ बस्नका लागि आउने चरालाई आहारको कमी हुन थालेको छ”, उहाँले भन्नुभयो, “प्राकृतिक तालमा माछापालन गरिन थालेपछि चरालाई पटाका पड्काएर भगाउने, विषादीको प्रयोग गरी र गुलेली हानेर मार्ने कार्य हुन थालेको छ । मानव अतिक्रमणका कारण ताल सुक्न थालेपछि चरा जोगाउनका लागि निकै चुनौती थपिएको छ ।”


Loading Viewer...

ताजा समाचार

spot_img