झलारी ः शुक्लाफाँटा नगरपालिका ७ स्टेशनपुर स्थीत धर्म जनता माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव समारोह शुक्रवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर ठगुन्नाको सभापतित्वमा सम्पन्न समारोहमा प्रमख अतिथि नगर प्रमुख रण बहादुर महरा, बिशिष्ट अतिथिमा नगर उप प्रमुख कल्पना पन्त रहनु भएको थियो । प्रमुख अतिथि महराले वार्षिकोत्सव समारोहमा बोल्दै विद्यालयको चौतर्फि विकासका लागि कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले विद्यालयको भौतिक पूर्वाार विकास र अन्य कार्यका लागि सहयोग निरन्तर जारी रहने बताउनु भयो । नगर उप प्रमुख पन्तले विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि शिक्षकले आ आफनो कर्तव्य निर्वाह गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

उहाँले सामुदायिक विद्यालयमा लगानी अनुरुपको शिक्षाको गुणस्तर नभएको गुनासो आउने गरेको चर्चा गर्नु हुदै विद्यालयको स्तर सुधारमा शिक्षक, अभिभावक सबैको सहकार्य भए विद्यालयलाई अव्वल बनाउन सकिने बताउनु भयो । कार्यक्रममा प्रगती प्रतिवेदन पेश गर्नु हुदै विद्यालयका प्राध्यानाअध्यापक पिताम्बर जोशीले चालु शैक्षिक सत्रमा विद्यालयमा ५७७ विद्यार्थी मध्ये ४२ दशमलव ३१ प्रतिशत छात्र र ५७ दशमलव ६९ प्रतिशत छात्रा रहेको जानकारी दिनु भयो ।
उहाँले भौतिक पूर्वाधार तर्फ विद्यालयमा भवन साना ठुला गरी १०, कोठा ३०, जग्गा २८८४० बर्गमिटर रहको उल्लेख गर्नु भयो ।उहाँका अनुसार विद्यालयमा जम्मा २८ जना शिक्षक कार्यरत रहेकोमा जस मध्ये स्वीकृत दरबन्दीका १३, राहत दरबन्दीका ६ र आन्तरिक श्रोतबाट ९ जना शिक्षक कार्यरत रहेका छन । आब २०७९/०८०को असार मसान्तमा मुद्दती कोष, अक्षय कोष लगायतमा कुल मौज्दात रु १६ लाख चार हजार नौ सय १७ र चालु आवको मंसिर मसान्त सम्मको आय व्यय रु ५८ लाख २३ हजार सात सय ३७ रकम रहेको जानकारी गराउनु भयो ।

विद्यालयको चुनौतीका रुपमा भवनहरु पुरान र जिर्ण रहेको, विद्यार्थीको अनुपातमा शिक्षकको सङख्या कम, फर्निचर लगायत विभिन्न भौतिक साधन श्रोतको कमी, विद्यालयमा आर्थिक अभाव, विद्यार्थीको कक्षा छाडने दर उच्च, विद्यार्थीको सिकाई उपलव्धी सामान्य रहेको छ । विद्यालयको बार्षिकोत्सव समारोहमा विद्यालयका जेहन्दार, कक्षामा प्रथम द्वितिय र तृतिय हुने विद्यार्थीलाई पुरुस्कृत समेत गरिएको थियो । समारोहमा वडा अध्यक्ष प्रताप सिह धामी, बहादुर सिंह महरा, नगरपालिकाको कार्यपालिका सदस्य भूमा चन्द, पूर्व वडा अध्यक्ष जगत बहादुर सिह, वडा सदस्य सरस्वती साउद, तारा महर, केशव सिंह ठगुन्ना, धिरेन्द्रप्रसाद भट्ट, समाजसेवी दुर्गा भट्ट, सिद्धराज भट्ट,विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाअध्यापक , सामुदायिक वनका पदाधिकारी, सहकारीका प्रतिनिधि, अभिभावक, विद्यार्थी, शिक्षक लगायतको सहभागीता रहेको थियो ।











