कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको १५ औं नगर सभा तथा अधिवेशन शुक्रवार सम्पन्न भएको छ । नगर सभामा प्रस्तुत पाँच वटा विधेयक सर्वसम्मतीबाट स्वीकृत भएका छन । नगर सभामा निर्णयार्थ प्रस्तुत विद्युतीय तथा अटो रिक्सा दर्ता (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी) विधेयक, स्थानिय संघ संस्था दर्ता विधेयक, शुक्लाफाटाँ नगरपालिका तथ्याङक तथा अभिलेख व्यवस्थापन विधेय पारित भएका छन । यसैगरी, शुक्लाफाँटा नगरपालिका सार्वजनिक नीजि साझेदारी विधेयक र शुक्लाफाँटा नगरपालिकाको सहकारी ऐन २०७५ संसोधन विधेयक पारित भएका छन । नगर सभामा व्यापक वहस र छलफल पश्चात विधेयकहरु पारित भएका हुन ।
नगर सभामा पेश गरिएका वडा शाखा र नगर स्तरीय योजना तथा कार्यक्रम संसोधन, परिवर्तन, थप रकमान्तर, सोधान्तर सम्बन्धी एजेण्डा सर्वसम्मतीले पारित भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र वडा कार्यालयबाट नियुक्त करारका कर्मचारीहरुको व्यवस्थापन सम्बन्धी प्रस्तुत प्रस्ताव नगर सभाले पारित गरेको छ । नगर सभाले पारित गरेका विधेयक राजपत्रमा प्रकासित भएपछि ऐनका रुपमा लागु हुने उहाँको भनाई रहेको छ । नगर सभामा बोल्दै नगर प्रमुख रण बहादुर महराले देशकै नमूना नगरपालिका बनाउनका लागि सबैको सहयोगको अपेक्षा राखेको बताउनु भयो । “सुशासन, विकास निर्माणमा अब्बल, हरित र स्वच्छ नगरपालिकाका रुपमा विकसित गराउनका लागि योजनावद्ध रुपमा अगाडी बढनु पर्छ” उहाँले भन्नु भयो, “त्यसका लागि नगर सभाका सबै सदस्यहरुको सहयोगको खाँचो छ, सबै एकजुट भएर अगाडी बढे समृद्ध नगरपालिका बनाउन सकिन्छ ।”
नगर उप प्रमुख कल्पना पन्तले विकास निर्माणका कार्यलाइ गुणस्तरीय संगै छिटो छरितो रुपमा सम्पन्न गर्ने परिपाटीको विकास गनिु पर्ने बताउनु भयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले जिल्लामै नगरपालिका उत्कृष्ट रहेको बताउनु भयो । प्रत्येक वर्ष नगरपालिका स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङकन र कार्य सम्पादन मूल्याङकनमा उत्कृष्ट रहदै आएको बताउनु भयो । यस कार्यलाई यस वर्ष पनि निरन्तरता दिनका लागि कार्यालयको कामकारवाहीलाई छिटो छरितो, चुस्त दुरुस्त बनाईएको उहाँको भनाई थियो । सुदूरपश्चिम प्रदेशमै सबै भन्दा पहिले(छिटो) नगर सभा गर्ने नगरपालिका शुक्लाफाँटा भएको छ ।










