कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले चालु आबको योजनामा लक्षित वर्गका कार्यक्रमहरु नराखिको भन्दै अपाङ्गता भएका व्यक्तिहरु आक्रोसित भएका छन । अपाङगता भएका व्यक्तिहरुको जीवनस्तर उकास्ने,सीपमूलक, आयमुलक कार्यक्रम नराखिएको प्रति आक्रोसित भएका हुन ।
“अपाङ्गता भएका व्यक्तिहरुका लागि के योजना चाहिन्छ, ल्यानोस् भने रु तीन हजार खर्च गरेर प्रस्ताव तयार गरयौं” अपाङग एकता समाजका अध्यक्ष हरि भट्टले भन्नु भयो,“नगर प्रमुखलाई नगर सभामै बुझायौं, तोक लगाउने कार्य भयो, त्यस पछि थन्क्याउने कार्य गरियो ।” बजेट छैन भनेर पन्छयाउने कार्य गरिएको उहाँले बताउनु भयो ।

अपाङगता भएका व्यक्तिहरुका एजेण्डा नगर सभामा समावेश भए पास गराउनका लागि प्रतिवद्ध भएको कुरा नगर प्रमुखले प्रस्ताव बुझाउने क्रममा भनेको स्मरण गर्दै उहाँले नगर सभामै प्रस्ताव पेश नगरेर अन्याय गरेको बताउनु भयो । “बजेट छैन भन्छन, उत्पादक क्षेत्र भन्दा बढी अनुत्पादक क्षेत्रमा बजेट खर्च गरिदै आएको छ” त्यो बजेटको सदुपयोग गर्दै लक्षित वर्ग लाभान्वीत हुने कार्यक्रम तर्जुमा गरी खर्च गर्न सक्नु असल जनप्रतिधिको दायित्व भित्र पर्छ, खोई त्यसो हुन सकेको छैन, खरो बोल्छ भनेर कुरा सुन्नु भन्दा तर्सेर भाग्ने गरेका छन ।”
प्रस्ताव लेख्न लागेको खर्चले कार्यालयको एक महिनाको भाडा तिर्न भ्याउथ्यो । त्यो पनि प्रस्ताव लेख्नमै सकियो उहाँले गुनासो गर्नु भयो ।

भाषण र नारामा मिठा शव्द बोलेर केही हुदैन योजनामा अपाङगता भएका व्यक्तिहरुका मागलाई सम्बोधन गरिनु पर्ने उहाँको भनाई रहेको छ । “नगरपालिकाले रोजगारमुलक कार्यक्रम सञ्चालन गर्दा र कर्मचारी भर्ना गर्दा समावेशिताको आधारमा गर्नु पर्ने हो” कालीप्रसाद डगौराले भन्नु भयो, “अपाङगता भएका व्यक्तिहरुका आवाज सुन्न चाहदैनन्, त्यै भएर सामावेशिताको कुरालाई ओझेलमा पारेका छन ।”
“गणतन्त्रमा सबैको अधिकार सुरक्षित हुन्छ, सबै वर्गको हक अधिकार कुण्ठित गर्न पाईदैन भन्छन, नगरपालिकाले अपाङगता भएका व्यक्तिहरुका लागि बजेटको व्यवस्था नगरेर अन्याय गरेको छ, त्यसका विरुद्ध आवाज उठाउन जरुरी भएको उहाँले उल्लेख गर्नु भयो । “अपाङगता भएका व्यक्तिहरु पनि सपाङग जस्तै कार्य गर्न सक्छन, स्नातक तह सम्म पढेका धेरै छन, अवसर नपाईदा बेरोजगार भएर बस्नु परेको छ, त्यो मर्मलाई जनप्रतिनिधिहरुले बुझन सक्नु पर्छ” उहाँले भन्नु भयो ।

अपाङगता भएका व्यक्तिहरुका माग सम्बोधन नभए चरणवद्ध रुपमा संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने अपाङगता भएका व्यक्तिहरुको भनाई रहेको छ । अपांगता भएका व्यक्तिहरु भन्छन, हाम्रा आवाज नसुनिए नगरपालिका कार्यालयमा तालाबन्दीनै गर्छौ । अपाङगता भएका व्यक्तिहरुलाई जिल्लाका अन्य पालिकाहरुले अपाङग मैत्री सहायक सामग्रीको व्यवस्थापन गरिएको छ तर शुक्लाफाँटामा बजेटले नभ्याएको भनेर पन्छयाउने कार्य गरिएको बताईएको छ । नग प्रमुख रण बहादुर महराले डल्लो बजेटबाट अपाङगता भएका व्यक्तिहरुका लागि के कति सकिन्छ सशक्तिकरणका कार्यक्रम बनाएर लागु गर्न सकिने बताउनु भयो । “बजेट घटेर आएको छ” उहाँले भन्नु भयो, “के कति गर्न सक्छौं, त्यसबाटै सम्बोधन गर्न सकिन्छ ।” नगर उप प्रमुख कल्पना पन्तले अपाङगता भएका व्यक्तिहरुका लागि सहज रुपमा नगरपालिकाबाट सेवा प्रवाह गर्नका लागि साङकेतिक भाषा बुझाउनका लागि दोभाषेको कसरी व्यवस्था गर्न सकिन्छ भनेर छलफल चलाएको बताउनु हुन्छ । “केही संस्था संग सहायक सामग्री उपलव्ध गराउनका लागि आफनै प्रयासमा पहल गरि रहेको छु” उहाँले भन्नु भयो, “उपलव्ध गराउने अश्वासन दिनु भएको छ, उपलव्ध भएपछि आवश्यकताका आधारमा कोही नछुटने गरी वितरण गर्छौ ।” उहाँका अनुसार नगरपालिकामा क श्रेणीको परिचय पत्र पाएका एक सय छ, ख श्रेणीको परिचय पत्र पाएका दुई सय ४६, ग श्रेणीको परिचय पत्र पाएका एक सय २५ र घ श्रेणीको परिचय पत्र पाएका ४९ जना अपाङगता भएका व्यक्तिहरु रहेका छन । परिचय पत्र नपाएका व्यक्तिहरुको संख्या पनि नगरपालिकामा उल्लेख्य रुपमा रहेको छ ।










