समाजसेवा र निष्ठाको प्रतिमूर्ति शुक्लाफाँटाकी राजु राना


राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ११ की ५० वर्षीय राजुदेवी रानालाई महिला स्वास्थ्य स्वयंसेविका भएर कार्य गरेको दुई दशक बढी भैसकेको छ । नगरपालिकामा महिला स्वयंसेवीका भएर कार्य गर्नेमा उहाँ निष्ठा र समाजसेवाको प्रतिमूर्तिका रुपमा परिचित हुनुहुन्छ । स्वास्थ्यकर्मी र चिकित्सक नभएको अबस्थामा गर्भवती, सुत्केरी भएका महिलालाई अप्ठेरो परेको जुनसुकै बेला पनि उहाँलाई गुहार्ने गरिन्छ । उहाँले महिला स्वयंसेवीका भएपछि मानविय सेवामा खटदै आउनु भएको छ । उहाँ भन्नु हुन्छ, “मानविय सेवाका लागि कहिल्यै पछाडी फर्केर हेरेको छैन, यसै पेशाबाट समाजको मन जितेको छु, माया र ममता पाएको छु, सेवामै रमाउन चाहन्छु ।” विसं २०५७ सालमा आमा समुहमा आवद्ध भएर उहाँले महिला स्वास्थ्य स्वयंसेवीकामा प्रवेश गर्नु भएको हो । त्यस बेला गाउँमा प्रौढ कक्षा सञ्चालन हुन्थ्यो । त्यसै क्रममा आमा समुहमा आवद्ध भए, महिला स्वयंसेवीका बन्न प्रस्ताव आएपछि घरपरिवारका सदस्यहरुलाई थाहैन नदिई सेवा प्रवेश गरेको उहाँ बताउनु हुन्छ । उहाँले भन्नु भयो, “समाजसेवा गर्दै गए, सबैको विश्वस जित्न सफल भए, समाजसेवाकै माध्यमले सबैले चिन्दछन ।” स्वयंसेवीका नियुक्त भएपश्चात गर्भवती महिलालाई चेकजाँच गराउन, सुत्केरी हुने महिलालाई बर्थिङ सेन्टर सम्म पुरयाउने, पाँच वर्ष मूनिका बालबालिकालाई खोप लगाउन खोप केन्द्र सम्म पुरयाउने कार्य गर्दै आउनु भएको छ ।

यो संगै गर्भवती भएका महिलाको घरमै पुगेर आइरन चक्कि खानका लागि दिने, बालबालिकालाई भिटामिन खाए नखाएको बारे सोधिखोजी गर्ने र परिवार नियोजनका अस्थायी साधनको आवश्यकता भएका दम्पतीलाई उपलव्ध गराउने कार्य उहाँले गर्दै आउनु भएको छ । प्राथमिक उपचारका कार्य पनि उहाँले निरन्तर रुपमा गर्दै आउनु भएको छ । पहिला गाउँपालिका हुदा खोप लगाउन उमेर पुगेका बालबालिकालाई खोप केन्द्रमा खोप लगाउने कार्य पनि उहाँले गर्नु हुन्थ्यो । अहिले गाउँघर क्लिनिक खोल्ने बन्द, गर्ने सफा गर्ने कार्य संगै खोप लगाउने बालबालिकालाई खोप केन्द्रमा पुरयाउने कार्य गर्नु हुन्छ । केन्द्रमा खोप लिन नआएको बालिबालिकाका अभिभावकलाई फोन गरेर बालबालिकालाई खोप लगाउन ल्याउनका लागि भन्नु हुन्छ । सरकारी तवरबाट उहाँले पोशाक भत्ताबाफत वर्षमा रु सात हजार र अन्य रु १५ हजार रकम पाउनु हुन्छ । “गाउँमा कोही विरामी भए मेरै दैलोमा पुग्छन” उहाँले भन्नु भयो, “नाइनास्ती भन्नै सकिदैन, धनगढी, नेपालगञ्ज र कहिलेकाँही काठमाण्डौ, भारतको नयाँ दिल्ली, कलकता सम्म पुग्नु पर्छ ।” गाउँघर क्लिनीक सञ्चालन हुने ठाउमा किटबक्स संगै त्यसमा प्राथमिक उपचारका लागि आवश्यक औषधी र एक दराज मात्रै उपलव्ध गराएको छ ।

“आमा समुहको मासिक समिक्षा बैठकलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाबाट प्रतिनिधि पठाए मनोवल बढ्छ” उहाँले भन्नु भयो, “आफना कुरा सुन्ने कोहीत हुनु परयो, समस्या समाधान नहुदा निकै निराश पनि भइन्छ ।” “सेवा सुविधामा तलव त भन्दैनौं, सेवामा खटिएका स्वयंसेवक हौं तर काम गर्ने दिन तोकि दिनु पर्छ” उहाँ भन्नु हुन्छ, “दिनरात काममा खटिनेलाई खाजा भत्ता त नगरपालिकाका तर्फबाट दिन सक्नु पर्छ, दोव्वर भत्ता दिने भनेको धेरै भयो, त्यो पनि पाईएको छैन।” “स्वयंसेविकाको पनि परिवार भएकाले ६० वर्ष उमेर पुग्दा सेवा निवृत हुदा पेन्सनको व्यवस्था गरिदिए बेस हुन्थ्यो,रितो हात घर फर्कनु पर्ने अबस्था छ,केही स्थानिय तहले यो व्यवस्था गरेका छन, यहाँ भने सुनवाई हुदैन” उहाँ भन्नु हुन्छ । स्वास्थ्य संस्था पुरयाउन नपाउदै बाटोमै सुत्केरीभएका धेरैलाई स्याहारेको अनुभव उहाँ संग रहेको छ । यस्तो अबस्थामा बच्चा र आमालाई बचाउन पाउदा निकै गर्व महशुस हुने उहाँको भनाई छ । सुत्केरीलाई स्याहार्न हामी घरमै पुग्छौ, घरका व्यक्तिहरुले सुत्केरीलाई छोइछिटो गरी छुन पनि जादैनन् त्यस्तो अबस्थामा काम गर्दा पनि कसैले महिला स्वास्थ्य स्वयंसेविकालाई एक छाक खाना खाउ भनेर पनि सोध्दैनन्, यस्तो अबस्थामा काम गर्नु परेको उहाँ अनुभव सुनाउनु हुन्छ ।

“महामारी आए सबै घरमै थुनिएर बसे, महिला स्वयंसेविकाले घामपानी नभनीकनै विरामीको उपचारमा जुटयौं” उहाँ भन्नु हुन्छ, “घाम पानी छेक्न एक वटा छाता त दिनोस भन्दा बजेट छैन भनेर पन्छयाइयो ।” विसं २०७५ सालमा वडा कार्यालयका तर्फबाट एक वटा साईकल पाईएका थियौं, त्यो पनि जिर्ण हुदा पैदलनै सुत्केरी र गर्भवती स्याहार्न हिडनु परेको गुनासो उहाँको रहेको छ । गाउँमा विरामी भए पहिलो फोन महिला स्वास्थ्य स्वयंसेविकालाईनै आउछ, फोन आउदा घरको सबै काम छाडेर त्यसमै होमिन्छौं, तर महिला स्वयंसेविकाको पीडा हेर्ने कोही हुदैन । स्वास्थ्य क्षेत्रको सफलतामा महिला स्वयंसेविकाको ठुलो हात रहेपनि हेर्ने दृष्टीकोणमा सुधार नआउदा अभावमै बाच्नु परेको उहाँ बताउनु हुन्छ ।


Loading Viewer...

ताजा समाचार

spot_img