राजेन्द्रप्रसाद पनेरु /कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा स्टक्रब टाइफसबाट दुई महिना(भदौ–असोजको हाल सम्म)को अबधिमै एक हजार एक सय ५२ जना विरामी भएका छन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक(किटजन्य अधिकृत) हेमराज जोशीका अनुसार सबै भन्दा बढी स्क्रब टाइफसबाट कैलाली जिल्लामा चार सय ४० जना विरामी भएका छन । दार्चुलामा एक सय ४०, बझाङमा एकa सय ३३, अछाममा एक सय ११,डडेल्धुरामा ९४, कञ्चनपुरमा ९०, डोटीमा ९, बैतडीमा ४ र बाजुरामा सात जना स्टक्रब टाइफसबाट विरामी भएका छन । विरामीहरुको सम्बन्धित जिल्लाको स्वास्थ्य चौकीर र अस्पतालमा उपचार भैरहेको छ । केही उपचार पछि निको भैसकेका छन
गत वर्ष स्क्रब टाइफसबाट सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ७५ जना विरामी भएका थिए । जसमा सबै भन्दा बढी डडेल्धुरा जिल्लामा पाँच सय ४५, कैलालीमा पाँच सय २९, कञ्चनपुरमा तीन सय ७७, दार्चुलामा तीन सय २४ विरामी भएका थिए ।

यसैगरी, बैतडीमा एक सय ७९, अछाममा एक सय ४१, बझाङमा ६३ र बाजुरामा ६२ जनामा स्क्रब टाइफस देखा परेको थियो । स्क्रब टाइफसको संक्रमण भए धेरै ज्वरो आउने, टाउको दुख्नु, धेरै पसिना आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किर्नाले टोकेको ठाउमा रातो दाग देखिनु र पछि गएर कालो दागका लक्षण देखिने गर्दछ ।स्क्रब टाइफसको लक्षण कोभिड १९ सँग मिल्दोजुल्दो हुने भएकाले पहिचान र उपचारका लागि नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा जानु पर्ने उहाँले बताउनु भयो । स्क्रब टाइफसका विरामी औषधी सेवन पछि पूर्ण रुपामा निको हुने उहाँको भनाई रहेको छ । “समयमै उपचार नगरे यसले गम्भिर रुप लिन सक्छ“ उहाँले भन्नु भयो, “यसले मस्तिष्क, कलेजो, फोक्सोको संक्रमण संगै बहुअंग विकार गर्ने अवस्था पनि सिर्जना हुन सक्छ ।” स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा गर्ने गरेको उहाँले बताउनु भयो ।

उहाँका अनुसार मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा(माइट) को टोकाईबाट मानिसमा सर्ने भएपनि यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।“किर्ना झाडी, खेतवारी,वनजङगल र घरवरीपरिको झाडीमा देखिने गर्दछ” निरीक्षक जोशीले भन्नु भयो, “किर्नाबाट बच्नका लागि खेतवारीमा काम गर्दा, वन जङगलमा काम गर्दा पुरा शरिर ढाकिने कपडा लगाउने, बुट लगाउने गर्नु पर्दछ ।” किर्नाको टोकाईबाट बच्न घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछयाएर बस्ने, संभव भएसम्म भुइँमा नबस्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने वा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्नु पर्ने उहाँले सुझाव दिनु भयो । विशेष गरी स्क्रब टाइफसको संक्रमण असार महिना देखि असोज महिना सम्म बढी देखिने गरेको छ ।







