अम्बा दत्त तिवारी/ महेन्द्रनगर: कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ वडाध्यक्षले विपन्न परिवारलाई आफ्नो सेवा सुविधा वाफतको रकम बाट खाद्यान्न तथा कुखुरा वितरण गरेका छन्। वडाध्यक्ष प्रकाश थापाले दशैंको मुखमा खर्च अभावले दशैं मनाउन अतिविपन्न परिवारलाई खाद्यान्न तथा कुखुरा वितरण गरेका हुन । दशैं तिहारको अवसर पारी शनिबार वडाध्यक्ष थापाले वडामा रहेका १० परिवारलाई घर मै पुगेर खाद्यान्न तथा कुखुरा वितरण गरेका छन् ।

वडाध्यक्ष थापाले दशैं तिहारको बेला विपन्न परिवारलाई दशैं, तिहारको बेला अलिकति भएपनि खुसी दिलाउन सके भने त्यो नै मेरो लागि खुसीको कुरा हो । दशैं तिहारमा विपन्न परिवारलाई केहि भएपनि राहत पुगोस र चाँड पर्व रमाइलो संग मनाउँन सहज होस भन्ने मनसायले चामल, दाल र कुखुरा वितरण गरेकाे बताए ।

खाद्यान्न तथा कुखुरा पाए पछि भीनपा ११ जनज्योति टोलकी ७० बर्षिया झ्यापु सुनारले वडाध्यक्ष थापालाई अाशिर्वाद दिदै यो पटकको दशैं राम्रो सँग मनाउन पाइने भन्दै खुसी व्यक्त गरिन्। दशैंको मुखमा खाद्यान्न तथा कुखुरा पाएका सबै परिवारको मुहारमा खुशी छाएको थियो।







