साउन : चुरे भएर बग्ने खोलाको कटानीले भीमदत्त नगरपालिका १० जिमुवा स्थित नागार्जुन टोल उच्च जोखिममा परेको छ । साउन दोस्रो सातादेखि अबिरल रुपमा परिरहेको बर्षातले खोलामा आएको वाढीले नागार्जुन टोल उच्च जोखिममा परेको हो । भीमदत्त नगरपालिका ८ र १० सीमा भएर बग्ने खोलाले चुरेदेखि पुर्वपश्चिम महेन्द्रराजसम्म कटानी गरेपनि नागार्जुन टोल उच्च जोखिममा परेको छ । नदीले रुख ढलान, पुल भत्काउनुका साथै नागार्जुन टोलतर्फ कटानी गरिरहेको छ । उक्त टोलको पुर्वतर्फ ईटाभट्टा भएकाले ईटाभट्टातर्फ भन्दा पनि दक्षिण तर्फ बस्तीतिर कटानी गरेपछि स्थानीय त्रसित भएका छन ।

नागार्जुन टोलका दिनेश भाट, प्रेम भाटसहितका केही परिवारले आवत जावत गर्ने सडक समेत खोलाले बिगारिदिएपछि उनीहरु सहज यातायातबाट समेत बञ्चित भएका छन । स्थानीयले हरेक चुनावका बेला भोट माग्नका लागि हरेक दलका नेता घरको दैलैसम्म पुग्ने तर, विपद्का बेला कसैले नगरिदिएको गुनासो पोखेका छन । खोलाको कटानी घरखेतसम्मै पुग्न लाग्दापनि तीनै तहका जनप्रतिनिधीले तटबन्ध निर्माणमा चासो नदेखाएको उनको दुखेसो छ । स्थानीय गितादेवी भाटले हरेक बर्ष खोलाले गर्ने कटानीका कारण आफुहरुको घर सहित सिङ्गो टोल नै जोखिममा परेको बताईन । ‘यो खहरे खोला हो, ‘उनले भनिन, ‘हरेक बर्षातमा खोला आउँछ, हामीहरुलाई जोखिममा पार्छ, हाम्रो पीडा कोही सुन्दैनन, चुनावका बेलामा मात्रै भोट माग्न नेताहरु घरमा पुग्छन, विपद्का बेला कोही पुग्दैनन् ।’ उनले भाट सहितका केही परिवारको सिधै सडकसंग पहुँच नहुँदा पनि जोखिम मोलेर खोला भएर जानुपर्ने बाध्यता रहेको बताईन ।

उनको घरदेखि उत्तरमा सिमलको रुख ढलेर थप पानी थुनिने भएकाले जोखिम बढाएको बताईन । जिमुवाको नागार्जुन टोल जिल्ला सदरमुकाम नजिकै भएपनि सरोकारवाला निकायको वेवास्ताका कारण कटानीको जोखिमा परेको छ । स्थानीयले बलियो तटबन्ध निर्माण गरेर घरखेत जोगाईदिन आग्रह गरेका छन । भीमदत्त नगरपालिका १० का वडाध्यक्ष महेश चन्दले वडासंग प्रर्याप्त बजेट नहुँदा समस्या भएको बताए । उनले चालु आर्थिक बर्षमा पालिका सहितका माथिल्ला निकायबाट बजेट मागेर कटानी रोक्ने बताए । उक्त क्षेत्रको स्थलगत अनुगम गर्दै भीमदत्त नगरकी उपप्रमुख निलम लेखक(जोशी)ले पालिकाबाट तटबन्ध निर्माण गर्दै जनताको घरखेत जोगाउने आश्वास दिईन । स्थानीयले खोलाको कटानी नियन्त्रण गर्दै भत्किएको पुल पुर्ननिर्माणदेखि सडक विस्तार गरिदिन माग अघि सारेका छन । मुलुकमा तीन तीन सरकार हुँदा पनि यसरी नागार्जुन टोलका भाट सहितका परिवारको सडकसंग पहुँच नहुँनु, कमै बजेटमा तटबन्ध निर्माण हुने भएपनि निर्माण नहुँने विडम्बना रहेको छ ।







