कञ्चनपुर : बेलडाँडी – बेलडाँडी गाउँपालिकाले विज्ञापन गरेको एक वर्ष बित्दा समेत सहायक रोजगार पदको परीक्षा गर्न सकेको छैन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सूचना २०७९/०३/२५ अनुसार प्रत्येक स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ जना रोजगार सहायक नियुक्त गर्ने निर्णय भएअनुसार हाल सम्म पनि बेलडाँडी गाउँपालिकाले कर्मचारी नियुक्त नगर्दा रोजगार सेवा केन्द्रको सेवा प्रवाहमा समेत ढिला सुस्ती भएको छ ।


मन्त्रालयले कर्मचारी नियुक्ति सम्बन्धी निश्चित मापदण्ड तोके पनि परीक्षा र नियुक्त लगायतका कार्य प्रकृयाहरू भने स्थानीय तहले नै गर्नुपर्ने भएकोले उक्त परीक्षा अहिले सम्म ओझेलमा परेको छ। गाउँ पालिकाले प्रथम पटक प्रकाशित विज्ञापन अनुसार कुनै पनि उम्मेदवार उत्तीर्ण नहुदाँ नियुक्त गर्न नसकेको र दोस्रो पटक प्रकाशित विज्ञापन २०७९/०५/१६ मा पुन: दरखास्त आव्हान गरि मिति २०७९/०८/१७ गते तोकिएको परीक्षा स्थगित गरि अहिले सम्म पनि परीक्षा सञ्चालन गर्न सकेको छैन। उक्त विषयमा परीक्षार्थीहरूले गा.पा. अध्यक्ष हरिश्चन्द्र राना सँग सोधपुछ गर्दा प्रत्येक एकपछि अर्को आइतबार सूचना आउँछ भन्दै अहिले सम्म आशामा राखेको बताउँछन भने गा.पा.का प्रमुख प्रशासकीय अधिकृतलाई परीक्षा यति ढिला किन सर ? भन्दा हाल गाउँपालिकाले आवश्यक नठानेर पनि हुनसक्छ भन्दै जवाफ दिएको जानकारी गराउँछन् ।

त्यस्तै पालिकाका रोजगार संयोजक कृष्णबहादुर चन्दलाई सोधपुछ गर्दा आफूले पटक पटक यस विषयलाई स्थायी बैठकमा कुरा राख्दै आएको बताउँछन् । यस प्रकार परीक्षामा भएको ढिलासुस्तीले विद्यार्थीहरूको माझ भविष्यका योजनाहरू निर्माणमा कठिनाइ हुनुका साथै वर्तमानमा पनि त्यही परीक्षाको लागि आशा गर्दै महिनौँ सम्म घरमै बसेर तनावग्रस्त हुनुपरेको बताउँछन । पालिकाले अन्तिम सर्टलिस्टमा १० जनाको नाम सार्वजनिक गरेको छ। जसमा रोजगार सहायक पदका लागि १ जनाको विज्ञापन आव्हान गरेको हो। बेलडाँडी गाउँपालिका विभिन्न पदमा विज्ञापन आव्हान गर्दै लिखित मौखिक परीक्षा सम्पन्न गरि नियुक्तिपत्र समेत दिई सकेको छ भने रोजगार सहायक पदको विज्ञापनको परीक्षा स्थगित गरेको वर्ष महिना दिन पुग्दा समेत परीक्षा कहिले गर्ने भन्ने विषयमा भने कुनै किसिमको चासो नदेखाएको र परीक्षा हुने नहुने भन्ने विषयमा पालिका अन्योलमा परेको देखिन्छ ।







