कञ्चनपुर: कञ्चनपुरको बेलौरीका चार मेडिकल(औषधी पसल)मा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बेलौरी नगरपालिका क्षेत्रमा चार मेडिकलमा शिलबन्दी गरेको हो । मापदण्ड विपरित गैर कानुनी रुपमा संचालनमा रहेको भन्दै प्रशासनले गत मंगलबार चारै मेडिकलमा ताला लगाएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले अनुगमनमा क्रममा कैफियत भेटाएपछि शिलबन्दी गरेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मापदण्ड विपरित गैर कानुनी रुपमा संचालनमा आएका मेडिकलमा शिल गरिएको बताए । उनका अनुसार बेलौरी नगरपालिका ४ बेलौरी बजार स्थित जगदम्बा अस्पताल प्रालि, बेलौरी पोलिक्लिनिक, जगदम्बा हेल्थक्लििनिक एण्ड प्याथोलोजी र सोही नगरपालिका ८ कलकत्ता स्थित कलकत्ता पोलि क्लिनिकमा शिलबन्दी गरिएको छ । मापदण्ड बिरुद्धमा रहेका उक्त औषधी पसल, क्लिनिकले जनताको स्वास्थ्यमा खेलवार्ड गर्न लागेको भन्दै शिलबन्दी गरेको जनाईएको छ । उनीहरुलाई थप कार्बाहीका लागि प्रकृया अघि बढाईएको प्रशासनले जनाएको छ ।







