एनटिभि कोहलपुरले पनि अब समाचार प्रसारण गर्ने

यसै महिनादेखि प्रादेशिक च्यानलका रुपमा रुपान्तरण भएसंगै एनटिभि कोहलपुरले साउन १ गतेदेखि दैनिक समाचार बुलेटिनहरु सुरु गर्दैछ । दिउँसो ३, ५ तथा साँझ ७ बजे गरी दैनिक ३ वटा समाचार बुलेटिन सुरु गर्दैछ भने हरेक दिन विहान ६ बजेदेखि ९ बजेसम्म बिहानी शो मर्निङ मिक्स प्रसारण हुने छ । यो संगै समाचारमुलक, स्थानीय भाषाभाषिका कार्यक्रम सहित स्वास्थ्य, शिक्षा, कृषि र मनोरञ्जनात्मक कार्यक्रम पनि अब सुरु हुदैछन् ।

नेपाल टेलिभिजनको नीति अनुसार एनटिभि कोहलपुरलाई पुर्ण क्षमतामा सञ्चालन गर्ने गरी नयाँ आर्थिक वर्षका लागि आवस्यक बजेटको व्यवस्था समेत गरिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल टेलिभिजनका महाप्रवन्धक गोविन्द रोकाले प्रदेश सरकार, स्थानीय सरकार, सञ्चार माध्यम र आमनागरिकको सहकार्यमा एनटिभि कोहलपुर लोकप्रीय च्यानलको रुपमा स्थापित हुने बताउनुभयो । एनटिभि कोहलपुर प्रमुख निराजन खनालले स्थानीय सरकारसँगको सहकार्यमा यो च्यानललाई प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका जनताको सबै भन्दा नजिकको प्रसारण संस्थाको रुपमा उभ्याउने प्रतिबध्दता ब्यक्त गर्नुभयो ।

तीन वटै प्रदेशका गतिविधिहरुलाई उच्च प्राथमिकता दिने उहाँको भनाई छ । भू–उपग्रहको माध्यमबाट प्रसारित एनटिभी कोहलपुरको पहुँच देशभित्र मात्र नभई बिश्वका १४६ वटा मुलुकमा समेत विस्तार भएको छ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारण सरह नै यसको प्रसारण पहुँच रहेको छ । अहिलेको उच्चतम प्रविधि एचडी मार्फत यसको प्रसारण भैरहेको छ । एनटिभी कोहलपुर प्रदेश नं। ५, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको प्रादेशिक प्रसारक संस्थाको रुपमा रहेको छ । आर्थिक वर्ष २०७७ / ७८ मा कार्यक्रम उत्पादन स्टुडियोसहित कम्तिमा चार वटा प्रादेशिक राजधानीहरुमा समाचार व्यूरो निर्माण गर्ने लक्ष्य सहित आबश्यक बजेटको व्यवस्था समेत गरिएको छ । त्यस क्रममा बुटवल र सुर्खेतमा उत्पादन स्टुडियो निर्माण हुनेछन् ।मोबाइल एप्स, युटुब, फेसबुक लगायतका डिजिटल प्लेटफर्म मार्फत पनि एनटिभी कोहलपुर हेर्न सकिन्छ ।।

ताजा समाचार