झलारी : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुर को जिल्ला सचिवमा धन बहादुर राना चयन भएका छन् । हिजो १६ गते जिल्लाको झलारीमा बसेको नेकपाको प्रथम विस्तारित बैठकले रानालाई सचिवमा निर्वाचित गरेको हो ।

विस्तारित बैठकले जिल्ला भित्र बढ्दै गईरहेको कालोबजारी , महंगी ,भ्रष्टाचार , त्यसै गरी बैंक – लघुवित्त , सहकारीहरुको चर्को ब्याजदर र मनोमानी विरुद्ध निरन्तर संघर्ष गर्ने निर्णय समेत लिएको नेकपा कञ्चनपुरले जनाएको छ । साथै बैठकले जनजीविका , जन्तन्तन्त्र संग जोडिएका समसामयिक विषयहरू लाई लिएर कञ्चनपुर प्रमुख जिल्ला अधिकारीलाई १८ गते ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको नव निर्वाचित जिल्ला सचिव रानाले बताए । सचिवले भने , “जिल्लाका सबै नगरहरुमा जनजागरण तथा संगठन सुदृढीकरण अभियान चलाउने र वर्तमान दलाल संसदीय व्यवस्थाको असफलतालाई उदाङ्गो पार्दै वैज्ञानिक समाजवादी आन्दोलनको मोर्चालाई बलियो बनाउन नेकपा कञ्चनपुर लाग्दै छ ।” साथै उक्त बैठकले विभिन्न नगरपालिकाहरुमा जिम्मेवारी हेरफेर गर्ने कार्य गरेको , अन्य विभागहरुको पनि बाँडफाँड गरेको जनाइएको छ ।

नेकपा कञ्चनपुर इन्चार्ज विराट सी को अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर सि , अतिथिहरुमा नेकपा केन्द्रीय उत्पादन विभाग सदस्य परिवर्तन सी, राष्ट्रिय वामपन्थी मञ्चका केन्द्रीय सदस्य वीरेन्द्र सी, अखिल क्रान्तिकारी महाकाली इन्चार्ज शंकर सी लगायत जिल्ला सदस्यहरूको उपस्थिति रहेको थियो ।







