ज्योतिष परिषद् सुर्खेत दोस्रो अधिवेशन सम्पन्नः अध्यक्षमा याम प्रसाद


सुर्खेत : नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिति सुर्खेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेपाल ज्योतिष परिषद कर्णाली प्रदेशका अध्यक्ष डा. गौरीशंकर शर्माको प्रमुख आतिथ्यता एवम् नेपाल ज्योतिष परिषद केन्द्रिय सदस्य विकास पौडेलको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
सम्पन्न दोस्रो अधिवेशनले नयाँ कार्यसमितिको समेत चयन गरेको छ ।

ज्यो.पं. यामप्रसाद अधिकारीको अध्यक्षतामा अधिवेशनले १४ सदस्सीय कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा विकास पौडेल उपाध्यक्षमा शोभाखर अधिकारी सचिवमा खगेन्द्र अधिकारी सहसचिवमा आनन्द खनाल र कोषाध्यक्षमा हरिशंकर उपाध्याय चयन भएका छन् भने सदस्यहरुमा थानेश्वर रिजाल, टिकाराम लामिछाने, मणिराम अधिकारी, राधिका उपाध्याय नारायण पोखरेल र रत्नप्रसाद उपाध्याय चयन भएका छन् । बाँकी सदस्यहरु पछि मनोनीत गर्ने समितिका अध्यक्ष याम प्रसाद अधिकारीले बताए ।

अधिवेशनको उद्घाटन शर्तमा केन्द्रिय सदस्य विकास पौडेलले ज्योतिषहरुको संस्था भएकाले पनि वैदिक शास्त्र अनुसार कार्य गर्नमा सबैले ध्यान दिने विश्वास व्यक्त गरे । यसैगरी नेपाल ज्योतिष परिषद कर्णाली प्रदेशका अध्यक्ष डा. गौरीशंकर शर्माले भने, कर्णालीको राजधानी समेत भएकाले सुर्खेत शाखाको विशेष योगदान हुन आवश्यक छ । हिजोका दिनमा भन्दा अबका दिनमा ज्योतिष विद्याको प्रचार प्रसार देखि प्रयोगलाई प्रविधिसँग जोड्दै अगाडि बढ्नु पर्ने भएकाले यसको क्षेत्र विकासलाई पनि फराकिलो बनाउनु पर्नेमा अध्यक्ष डा. शर्माले जोड दिए ।

अधिवेशनको बन्द शर्तमा निवर्तमान अध्यक्ष धनऋषि उपाध्यायले प्रगति प्रतिवेदन र वर्तमान कोषाध्यक्ष हरिशंकर उपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन शर्तको सहजिकरण निवर्तमान सचिव आदित्यराज उपाध्यायले गरेका थिए । नवनिर्वाचित कार्यसमितिले यही पौष २४ गते नेपाल ज्योतिष परिषदको रजत जयन्तीलाई विभिन्न कार्यक्रम गरी मनाउने निर्णय समेत गरेको छ । अधिवेशनमा नेपाल ज्योतिष परिषद कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष ढाकाराम अधिकारी, कोषाध्यक्ष रामशंकर उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।


ताजा समाचार

spot_img