दोलखा / दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३ सय १८ रहेको छ । क्षेत्र नम्बर १ मा पछि परेका शिवाकोटीले क्षेत्र २ मा कार्कीको भन्दा राम्रो मत पाएपनि जित्न सकेनन् । उनलाई बैतेश्वर र तामाकोशीको भार घटाएर थप मत प्राप्त गर्न सकस भएको हो ।

प्रदेशसभातर्फ भने आईतवार नै क्षेत्र १ मा कांग्रेसका केन्द्रिय सदस्य कुण्दनराज काफ्ले र २ बाट एमालेका भरत केसी निर्वाचित भइसकेका छन् । काफ्लेले भारी मतान्तरले एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरेका छन् भने केसीले कांग्रेसका बर्मा लामालाई पछि पार्दै जित निकालेका हुन् । (नयाँ पत्रिकाबाट )







