सुदूरपश्चिममा ३ सय ५२ मतदानस्थल अति संवेदनशील, यस्तो छ सुरक्षा तयारी


गोकुल जोशी/कञ्चनपुर : आउँदो आइतबार हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको सम्पूर्ण सुरक्षा तयारी पुरा भएको छ। सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहित सुरक्षा टोली खटिएको छ। निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि सुदूरपश्चिम प्रदेशमा करिब २५ हजार सुरक्षाकर्मी खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले जानकारी दिए। उनका अनुसार ६ हजार ४१० जना जनपद प्रहरी, ११ हजार ५५९ म्यादी प्रहरी परिचालन भएका छन्। त्यतिकै संख्यामा शसस्त्र प्रहरी र नेपाली सेना पनि खटिने छन्। ‘तीन घेरामा सुरक्षा प्रवद्र्धन मिलाइएको छ, पहिलो घेरामा जनपद प्रहरी र म्यादी प्रहरी रहनेछन्,’ एसएसपी रावलले भने, ‘दोस्रो घेरामा शसस्त्र र त्यो भन्दा बाहिर सेनाले सुरक्षा दिनेछ।’ प्रदेशभर १७७ वटा मोबाइल टोली र २० वटा ‘रिजर्भ फोर्स’ तयारी अवस्थामा राखिएको छ।

प्रदेशका १ हजार १ सय ६१ वटा मतदानस्थलमध्ये प्रहरीले सुरक्षाको दृष्टिकोणले ती मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा वर्गीकरण गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार तीमध्ये ४०५ मतदानस्थल सामान्य, ४०४ संवेदनशील र ३५२ मतदानस्थल अति संवेदनशीलका रुपमा राखेर सोही अनुसार सुरक्षाकर्मी खटिएका छन्। ‘तत्काल त्यस्तो सुरक्षा चुनौती खासै छैन, विगतका चुनावमा भएका विवाद, सीमा लगायतलाई मध्यनजर गर्दै सोही अनुसार सुरक्षकर्मीको खटनपटन भएको छ,’ एसएसपी रावलले भने, ‘व्यक्तिगत रिसिबीलाई चुनावमा राजनीतिकरण गर्न खोजिएको देखिन्छ, त्यस्तै प्रकारका झडप हुनसक्ने देखिएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।’ विगतको निर्वाचनको अनुभव, अहिले सुरक्षा अवस्था र भौगोलिक विकटताले प्रदेशको पहाडी क्षेत्रका जिल्ला बझाङ, बाजुरा, बैतडी र दार्चुलाका केही स्थानलाई अतिसंवेदनशील सूचीमा राखिएको छ। प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार निर्वाचनको तयारी पूरा भएको छ।

भौगोलिकरूपमा विकट मतदानस्थलमा मंगलबारदेखि कर्मचारी नियुक्त भइ मतपत्रसहित खटाइएको र सुगम ठाउँका मतदानस्थलमा मंसिर २ गतेभित्र कर्मचारी खटनपटन गरिने उनले बताए। कर्मचारी खटनपटनका साथै मतदान सामग्री सम्बन्धित निर्वाचन क्षेत्रमा ढुवानी गर्ने लगायतका व्यवस्थापकीय काम पूरा भइसकेको छ। सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्रमा कूल १६ लाख ५६ हजार चार मतदाता छन्। प्रतिनिधि सभाका सबैभन्दा बढि पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेका छन्। सबैभन्दा कम बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता छन्।यस्तै, बझाङमा १ लाख २२ हजार ३ सय ७६ जना मतदाता रहेका छन्। प्रतिनिधि सभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा ३ लाख २ हजार ५०९ मतदाता रहेका छन्। पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक/एक निर्वाचन क्षेत्र छन् । एक मतदान केन्द्रमा स्वयंसेवकसहित १० देखि १२ कर्मचारी खटिएका छन्।


ताजा समाचार

spot_img