झलारी : शुक्लाफाँटा नगरपालिका १० झलारीको लोकप्रिय होटलबाट जंगली जनावर (बदेल) को मासु सहित होटल सञ्चालक पक्राउ परेका छन् । बिहीवार बिहान जंगली बदेलको मासु फ्रिजभित्र राखेको अवस्थामा होटल सञ्चालक रमेश रावललाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले रंगेहात पक्राउ गरेको हो । जंगली जनावर बदेल मारी होटेलमा बिक्रिवितरण भैरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सूचना प्राप्त हुन साथ शुक्लाफाटा राष्ट्रिय निकुञ्जको टोली घटना स्थल पुगेर बदेलको मासु बरामद गरी होटल संचालकलाई समेत पक्राउ गरी आबश्यक कारबाहीको लागि बदेलको मासु सहित राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउमा पठाईएको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिनुभयो ।

अनुसन्धानका लागि बदेलको मासु सहित होटेल संचालक रावललाई नियन्त्रणमा लिइएको शुक्लफाँटा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी ऐरले बताए । उनका अनुसार फ्रिजबाट १० किलो बदेलको मासु फेला परेको वताए । निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बरामद भएको मासु परिक्षणका लागि पठाइने बताउनु भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा मासु परिक्षणका लागि पठाइने र परिक्षणको रिपोर्ट आएपछि राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही अगाडी बढाइने बताउनु भयो ।







