बेलौरी नगरपालिकाको पहिलो निर्णय सुत्केरी महिलालाई पोषण भत्ता

बेलौरी छोटी भन्सार संचालनका लागि पहल थाल्ने


कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका कार्यपालिका बैठकले दर्जनौँ निर्णय गरेको छ । नगर प्रमुख पोतिलाल चौधरीको अध्यक्षमा बसेको पहिलो कार्यपालिका बैठकले सुत्केरी महिलालाई पोषण भत्तादेखि बेलौरी छोटी भन्सार कार्यालय स्थापनाका लागि पहल गर्ने निर्णय गरिएका छन । बेलौरी नगरपालिकामा बसोबास गर्ने सुत्केरी महिलालाई आगामी आर्थिक बर्ष २०७९/०८० १ साउनदेखि थप ९ सय रुपैया सुत्केरी भत्ता दिने निर्णय गरेको छ । यो निर्णयसंगै बेलौरी नगरका गर्भवती महिला अस्पतालमा सुत्केरी भए यस अघि पाउँदै आएको सेवा सुविधा सहित थप ३ हजार रुपैया पाउने नगर प्रमुख चौधरीले बताए ।

नगरपालिकाले बेलौरी छोटी भन्सार संचालनका लागि जिल्ला प्रशासन कार्यालय मार्फत गृह तथा पराष्ट्र मन्त्रालयमा पुन अनुरोध गर्ने निर्णय गरिएको छ । यस्तै भारतीय पक्षबाट बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा रहेको जमिन अतिक्रमण गर्ने कार्य रोक्नका लागि पनि प्रशासन कार्यालय मार्फत गृह तथा पराष्ट्र मन्त्रालयमा पुन अनुरोध गर्ने निर्णय गरिएको छ । नगरका जेष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिलाई घरमै गएर स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्यकर्मीले अतिरिक्त समय काम गरे बाफत प्रदिन ७ सय भत्ता र यातायात बाफत २सय खर्च दिने निर्णय गरिएको छ । नगरको फोहोरमैला व्यवस्थापनका लागि सरोकारवालासंग छलफल गर्ने, नक्साङकन कार्य सम्पन्न भएको बेलौरी ४मा रहेको भूमिहिन दलित, सुकुमबासी अव्यवस्थित बसोबासीको लालपुर्जा वितरण गर्ने निर्णय गरिएको छ ।

गेटा आँखा अस्पताल उपचार केन्द्रलाई बेलौरीमा सर्जिकल सेवा तथा स्वास्थ्य बीमा शुचारु गर्न पहल थाल्ने निर्णय गरिएको छ । स्थानीय तहको योजना तर्जुमा दिग्र्दशनका लागि राजस्व परामर्श समितिमा कार्यपालिका सदस्य नेहा सुनार, कृष्णभान बराई र अनुगमन तथा सुपरीवेक्षण समितिमा कार्यपालिका सदस्य बिन्द्रावती राना, हर्क बहादुर भुललाई जिम्मेबारी दिईएको छ । बेलौरी नगरपालिका भन्सार नाका विस्तारसंगै कञ्चनपुरकै आर्थिक विकास हुने अपेक्षा गरिएको छ ।


ताजा समाचार

spot_img