सृजनशिल सहकारी संस्थाको मुनाफा एक करोड बढी


राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आबको हाल सम्मको अबधिमा १ दशमलव ५ करोड मुनाफा आर्जन गरेको छ । उत्पादनशिल क्षेत्रमा ऋण प्रवाह गरी सहकारीले मुनाफा आर्जन गरेको हो । सहकारी जिल्लामै बढी कारोवार गर्ने संस्थाका रुपमा परिचित रहेको छ । सहकारीले चालु आबमा रु ७६ करोड ऋण लगानी गरेको छ । कुल ऋण लगानीको ५४ प्रतिशत रकम व्यापार व्यवसायमा लगानी गरिएको छ । त्यस पछि व्यवसायीक कृषिमा ४० प्रतिशत र ५ प्रतिशत अन्य क्षेत्रमा लगानी गरिएको छ । लगानी गरिएको ऋणको असुली दर ९९ दशमलव ६५ प्रतिशत रहेको छ । सहकारीमा आवद्ध सदस्यहरुको जीवनस्तर उकास्नका लागि व्यवसायीक कार्यमा लगानी गर्नका लागि बाह्य क्षेत्रबाट ३० करोड ऋण लिएको छ ।

“सहकारीको मान्यता अनुरुप खुला सेयर सदस्यता वितरण गर्ने नीति लिएका छौं” सहकारीका अध्यक्ष शिवराज भट्टले भन्नु भयो, “प्रवेश शुःल्क रु १०० र सेयर सदस्य शुःल्क रु १०० गरी रु २०० मा सहकारीको सदस्य बन्न सकिने प्रावधान राखेका छौं ।” उहाँका अनुसार संस्था सञ्चालन गर्दा २५ जना सेयर सदस्यबाट शुरु गरिएको सहकारीको शुरुको सेयर पूजिँ रु एक लाख ३२ हजार रहेको थियो । हाल सेयर सदस्यको संख्या बढेर १५ हजार ४६० पुगेको छ । सेयर पूजिँ रु चार करोड पुगेको छ । सहकारीमा आवद्ध सदस्यहरुले रु ४० करोड रकम बचत गरेका छन । सहकारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रम अनुसार २८० वटा केन्द्रमा चार हजार ९३८ जना महिला आवद्ध रहेका छन । केन्द्रमा आवद्ध महिलाहरुले हस्तकला, व्यवसायीक तरकारी खेती, पशुपालन, कुखुरापालन, मछापालन, बंगुरपालन, किराना पसल सञ्चालन, व्यूटी पार्लर, चना चटपटे, पानपुरी पसल सञ्चालनमा लगानी गरी आयआर्जन गर्दै आएका छन । सहकारी संस्थाले दुई तरिकाले आवद्ध सदस्यहरुलाई ऋण प्रवाह गर्दै आएको छ ।

सहकारीका कार्यकारी प्रवन्ध निर्देशक मदनराज भट्टका अनुसार रु तीन लाख सम्मको ऋण व्यक्तिगत धन जामानीका आधारमा विना धितो उपलव्ध गराईन्छ । रु ४० लाख सम्मको ऋण रकम अचल सम्पती धितो राखि उपलव्ध गराइन्छ । “विना झन्झट सहज प्रकृयाबाट सदस्यहरुलाई ऋण प्रवाह गर्ने व्यवस्था मिलाईएका छौं” कार्यकारी प्रवन्ध निर्देशक भट्टले भन्नु भयो, “बैंक लगायतका अन्य वित्तिय संस्थाको हकमा कम व्याजमा ऋण लगानी गरी व्यवसाय प्रवद्र्धनका लागि कार्य अगाडी बढाउदै आएका छौं ।” गरिवीको रेखामूनी रहेका व्यक्तिहरुको जीवनस्तर उकास्नका लागि र साना मझौला घरेलु उद्योग, व्यापार व्यवसायमा लगानी गरिदै आएको उहाँले बताउनु भयो । व्यापार व्यवसायमा मात्रै लगानी नगरी नवकरणीउ उर्जामा समेत लगानी सहकारीले गर्दै आएको छ । सौर्य उर्जा, गोवरग्याँस प्लान्ट निर्माण र इ रिक्सा खरिदमा सहकारीले लगानी बढाउदै आएको उहाँको भनाई रहेको छ ।

“वनजंगल माथिको निर्भरता कम गर्न र डिजेल पेट्रोल लगायतका इन्धनको खपतमा कमी ल्याउनका लागि नविकरणीय उर्जा प्रवद्र्धनमा जोड दिदै आएका छौं” उहाँले भन्नु भयो, “नविकरणीय उर्जाबाट घरमा बत्तिको व्यवस्था, खाना बनाउने कार्य संगै खेतबारीमा सिचाई गर्नका लागि प्रयोगमा ल्याईएको छ ।” सहकारीले आँखा अस्पताल चटकपुर धनगढी संग समन्वय गरी झलारी बजारमा आँखा उपचार केन्द्र समेत दुई वर्ष अघि देखि सञ्चालन गर्दै आएको छ । आँखा उपचार केन्द्रमा सहकारीका सदस्यहरुलाई निःशुल्क र अन्य व्यक्तिहरुका लागि सामान्य शुःल्कमा आँखाको उपचार हुदै आएको छ । आगामी आर्थिक वर्षमा सहकारीले एक हजार जना बेरोजगारलाई स्वरोजगार बनाउनका लागि कार्यक्रम सञ्चालन गर्न योजना अघि सारेको छ । बेरोजगारको तथ्याङ्क उपलव्ध गराउनका लागि नगरपालिका कार्यालयहरु संग समन्वयको कार्य भैरहेको सहकारीका पदाधिकारीहरुको भनाई रहेको छ ।

“बेरोजगार युवाा युवतीहरुलाई विदेशीनबाट रोक्नका लागि घरमै स्वरोजगार हुने खालका सीपमुलक, व्यवसायमुलक कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको छ” सहकारीका सल्लाहकार समितिका सदस्य सिद्धराज भट्टले भन्नु भयो, “युवाहरुलाई सीप सिकाउछौं । आयआर्जन हुने कार्य सञ्चालनका लागि पूजिँको समेत व्यवस्था गर्छौ । सरकारी क्षेत्रबाट हुन नसकेको कार्य सहकारीबाट गर्न खोज्दै छौ ।” सहकारीले कञ्चनपुर जिल्लाकाको झलारी, कृष्णपुर,दैजी, बेलौरी,बेलडाँडी, पुर्नवास, कलकत्ता, महेन्द्रनगर र दोधारा चाँदनी क्षेत्रमा शाखा कार्यालय सञ्चालन गरी सेवा पुरयाउदै आएको छ । डडेल्धुराको जोगबुढा र कैलालीको अत्तरियामा आउदो आवमा शाखा विस्तार गर्ने योजना रहेको छ । सहकारीमा हाल सम्म ५८ जना कर्मचारी कार्यरत रहेका छन । सहकारीको कुल सम्पती रु ८२ करोडको रहेको छ भने स्थीर सम्पती रु दुई करोड मूल्य बरावरको रहेको छ ।


ताजा समाचार

spot_img