कञ्चनपुर : नेकपा एमाले र राप्रपा नेपालबिच चुनावी तालमेलको समझदारी बनेको छ। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका उपाध्यक्ष कमल थापाको उपस्थितिमा एमाले स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालक बिभागका प्रमुख सुशील कुमार श्रेष्ठले ५ बुदे सहमतिमा हस्ताक्षर गर्नुभयो।

राप्रपा नेपालले एमालेको चुनाव चिन्ह सुर्य नै लिएर चुनावमा जाने भएको छ। राप्रपाले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेको उम्मेदवारलाई सघाउने छ भने एमालेले पनि राप्रपा नेपाललाई सघाउने सहमति भएको छ। यसैगरी एमाले र नेपाल परिवार दलबीच पनि चुनावी गठबन्धन हुने भएको छ।

नेकपा एमालेका स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल बिच गठबन्धन गर्ने सहमति भएको हो। अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सुर्य चिन्ह लिएर प्रतिस्पर्धा गर्नेछन् ।







