शुक्लाफाँटा नगरपालिकालाई साक्षर नगर घोषणा

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । नगरका निरक्षर अबस्थामा रहेका दुई हजार २८८ जना मध्ये दुई हजार १७८ (९५ दशमलव ५४ प्रतिशत) व्यक्तिलाई साक्षर बनाईए पछि नगरपालिकालाई शुक्रवार साक्षर घोषणा गरिएको हो । नगरपालिकामा अब ४ दशमलव ४६ प्रतिशत व्यक्तिहरु मात्रै निरक्षर रहेका छन । निरक्षर अबस्थामा रहेका व्यक्तिहरुको पहिचान गरी नगरपालिकाले कार्यक्रम सञ्चालन गरी पूर्ण रुपमा साक्षर बनाउने लक्ष्य लिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले बताउनु भयो ।

उहाँका अनुसार साक्षर नेपाल कार्यक्रम अन्र्तगत नगरपालिकाका १२ वटै वडामा ९० वटा साक्षरता कक्षा सञ्चालन गरी निरक्षरलाई साक्षर बनाउने कार्य गरिएको थियो । वडा नं १ मा २, वडा नं ३ मा २, वडा नं ४ मा २, वडा नं ५ मा २, वडा नं ६ मा २, वडा नं ७ मा १६, वडा नं ८ मा १०, वडा नं ९ मा ८, वडा नं १० मा ६ वडा नं ११ मा ९ र वडा नं १२ मा २९ वटा साक्षरता कक्षा सञ्चालन भएका हुन । साक्षरता कक्षा सञ्चालनका लागि सहजकर्ताको तलव, शैक्षिक सामग्री खरिद, मसलन्द खरिद, कार्यालय व्यवस्थापन खर्च गरी रु २० लाख बजेट परिचालन गरिएको थियो । शिक्षा इकाई कार्यालय महेन्द्रनगरका प्रमुख पदमराज कलौनीका अनुसार जिल्लामा हाल सम्म शुक्लाफाँटा नगरपालिका सहित बेदकोट नगरपालिका, लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिका साक्षर घोषणा भएका छन ।

“अन्य स्थानिय तहले साक्षर नगर घोषणाका लागि तयारी गरेका छन” उहाँले भन्नु भयो, “केही अन्तिम तयारीमा रहेका छन । चालु आब भित्रै कञ्चनपुर जिल्लाईनै साक्षर जिल्ला घोषणाका लागि तयारी भैरहेको छ । यसका लागि साक्षर घोषणा नभएका पालिकाहरुले सहयोग गर्नु पर्छ ।” “साक्षरता सिकाईका लागि साक्षरता अभियानको स्थानिय व्यवस्थापन, सहकर्ताको व्यवस्था, र सहभगीको अनुकुलता अनुसार समुदायमा रहेका साक्षर एक जना व्यक्तिले अर्को कम्तीमा एक जना निरक्षर व्यक्तिलाई निश्चि समयमा साक्षर गराउने गरी परिचालन गरिएको थियो” नगर प्रमुख दिल बहादुर ऐरले भन्नु भयो, “यसका अतिरिक्त समुदायका निरक्षरहरुलाई समुहको पहलमा साक्षर गराउने कार्य गरिएको थियो ।” उहाँका अनुसार आफनो परिवारमा रहेका निरक्षर व्यक्तिहरुलाई परिवारकै साक्षर व्यक्तिको पहलमा साक्षर गराउने कार्य संगै कक्षागत प्रणालीबाट सहजकर्ता परिचालन गरी निरक्षरलाई साक्षर गराईएको छ । “कोभिड १९ को संक्रमणका बावजुद समेत निर्धारित स्वास्थ्य मापदण्ड अपनाई साक्षरताका कक्षा सञ्चालन गरी निरक्षरहरुलाई साक्षर गराउनका लागि कार्य अगाडी बढाएका थियौं” उहाँले भन्नु भयो, “यसका लागि जनसामुदायिक सिकाई केन्द्र र मालिका सिकाई केन्द्रको अहं भूमिका रहेको छ ।”

ताजा समाचार