पप्पु गुरुङ्ग, दोधारा । निर्वाचन मिति घोषणा संगै स्थानिय तहमा उम्मेदवारी दिने प्रतिनिधिको चर्चा सुरु भएको छ् । सामाजिक सञ्जाल मार्फत पनि अब प्रमुख/उप–प्रमुख, वडा अध्यक्ष कसलाई बनाउन चाहनुहुन्छ ? लगाएत प्रसंगमा चर्चा भईरहेको छ् । आमनागरिक पनि जनप्रतिनिधि आफूले अपेक्षा गरे अनुसारको हुनुपर्ने बताउछन् । हालका जनप्रतिनिधिको समयावधी सकिनै लाग्दा उनीहरुले गरेका काम प्रति प्राय : नागरिक असन्तुष्ट देखिएका छन् । त्यसैले पनि अब निर्वाचित हुने जनप्रतिनिधी भाषण गर्ने मात्र नभएर बाँचा गरेका काम समेत गरेर देखाउन सक्ने हुनुपर्ने आमनागरिकको चाहना छ् । अब हुने चुनावबाट कस्तो जनप्रतिनिधिको अपेक्षा गर्नुभएको छ, भनेर गरेको प्रश्नमा दोधारा चाँदनी नगरपालिकाका स्थानिय भन्छन्, ‘जनप्रतिनिधि यस्तो हुनुपर्यो, देश विकासमा केन्द्रित हुने, जनताको काम गर्ने, ताकि आफ्नो काम मात्र गर्ने खालको हुनुभएन’ हाल भएका जनप्रतिनिधीको कामबाट अपेक्षाकृत सन्तुष्ट हुन नसकको बताउदै स्थानिय थप्छन्, ‘सबै जनप्रतिनिधिलाई नराम्रो भन्न मिल्दैन् । कतिपयले राम्रो काम पनि गरेका छन् । जनताको सेवा गरेका छन् । कतिपय भने काम गरेजस्तो मात्रै गर्ने जनप्रतिनिधी पनि छन्, त्यसैले जुन आधारमा सन्तुष्ट हुनुपर्ने हो त्यो हुन सकिएन ।’ अबको चुनावबाट भाषण ठोक्ने होइन, भ्रष्टाचार रोक्ने खालको जनप्रतिनिधीको अपेक्षा गरेको बताउदै दोधारा चाँदनी नगरपालिका वडा नं. २ का स्थानिय भक्त बहादुर सुनार भन्छन्, ‘धन कमाउने होइन, मन कमाउने, शासक होइन सेवक, प्रक्रियामुखी होईन परिणाममुखी, संरचना उद्धघाटनमा रमाउने होईन संरचना बनाउने खालको जनप्रतिनिधीको अपेक्षा गरेको छु ।’ हालका जनप्रतिनिधीले गरेका कामबाट पूर्ण सन्तुष्ट नभएको सुनाउदै सुनार भन्छन्, ‘जति उनीहरुले काम गर्न सक्नुपर्ने हो, त्यति काम गरेका छैनन्, छाडा चौपाया ब्यवस्थापन, महाकाली नदी र जगबुडा नदीमा पक्की तटबन्ध, स्थानिय युवा तथा युवतीलाई रोजगारी, किसानहरुलाई मलखाद, बिउबिजन तथा सिचाईको ब्यवस्था लगाएत कार्य अझै हुन सकेका छैनन् । अलपत्र छाडा चौपाया ब्यवस्थापन, पार्किङ अवस्थित किसानहरुलाई सुबिद्या बितरण, जंगली जनावर आतंक, सडक निमार्ण लगाएत थुप्रै काम गर्न बाँकीनै छन्, तर यसतर्फ ध्यान दिएको पाईदैन ।’ स्थानिय टेक बहादुर बिक भन्छन्, ‘गाँउ–समाजमा समग्र रुपमा मिल्न सक्ने, विकासमा बढी चाहना भएको, जनअपेक्षा अनुसारको काम गर्न सक्ने मान्छेको आवश्यकता महसुस गरेको छौं ।’ उनले हालका जनप्रतिनिधीले गरेका कामबाट पूर्ण सन्तुष्ट हुन नसके पनि केही मात्रामा भने सन्तुष्टनै रहेका बताए । उनले थपे, ‘नयाँ स्थानिय सरकार भएकाले पनि उनीहरुलाई सिक्न पनि समय लागेको हुन सक्छ ।’ ‘जनताले अपेक्षा गरे अनुसारको काम गर्ने जनप्रतिनिधीको अपेक्षा गरेको छौं’ दोधारा चाँदनीका अर्का स्थानिय सुरज सुनार भन्छन् –‘अहिले पनि काम त भएको छ । तर अपेक्षा गरेअनुसारको भएन, वडाअध्यक्षले गरेको कामबाट सन्तुष्टनै छौं । तर अझै राम्रो काम हुन सक्थ्यो, अब जनअपेक्षा अनुसार काम गर्ने जनप्रतिनिधीको आवश्यकता छ ।’ जनताको मन जित्ने खालको जनप्रतिनिधीको अपेक्षा गरेको बताउदै स्थानिय सुरज सुनार भन्छन्, ‘चुनाव जित्नका लागि गरिएका बाँचा पूरा गर्ने, विकासका काम द्रुत गतिमा गर्ने जनप्रतिनिधीको अपेक्षा गरेको छु ।’ अहिलेका जनप्रतिनिधीले गरेका कामबाट ८० प्रतिशत असन्तुष्टनै रहेको बताउदै उनी थप्छन्, ‘जनप्रतिनिधीले सपना देखाएका कार्यहरु भाषणमा मात्रै सिमित भएकाले असन्तुष्ट भएका छौं । अब आउने जनप्रतिनिधी भाषण होइन, काम गर्ने होऊन् भन्ने आशा गरेका छौं’ अब हुने स्थानिय तहको निर्वाचनबाट ईमानदार, कर्मठ र लगनशिल जनप्रतिनिधीको अपेक्षा गरेको बताउदै स्थानिय सुनार भन्छन्– ‘आएको बजेटलाई सही तरिकाले खर्च गर्ने, मुखले बोल्ने मात्र नभएर आँखाले देख्ने गरी काम गर्ने जनप्रतिनिधि आवश्यक छ ।’ दोधारा चाँदनी नगरपालिकाबासीको आधारभुत आवश्यकता भनेको नदी तटबन्ध, जंगली जनावरको आतंक, छाडा चौपाया ब्यवस्थापन, किसानहरुको समस्या लगाएत आवश्यकता रहदै आएका हुदा त्यसतर्फको समस्या हल गर्न सबै लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको स्थानियहरुको माँग छ् । ‘केही वर्ष अघि संचालन भएको जगबुडा नदी तटबन्धको कार्य अहिले आएर रोकिएका छन्,’ स्थानियबासी भन्छन्, ‘काम देखिने गरी हुनुपर्यो, जनताले तिरेको करको दुरुपयोग होईन सदुपयोग हुनुपर्यो । त्यसको प्रतिनिधित्व गर्ने असल जनप्रतिनिधीको आवश्यकता छ, जोसुकै भए पनि काम प्रति ईमानदार हुनुपर्यो, आएको बजेटलाई दायाँ बायाँ नगरी सही कार्यमा सदुपयोग गर्ने जनप्रतिनिधीको आवश्यकता छ ।’ कृषि, जलस्रोत र अन्य प्राकृतिक स्रोत र साधनलाई सही सदुपयोग गर्न जनप्रतिनिधीहरु लाग्नु पर्ने स्थानियबासीहरुले बताउदै आएका छन् । अहिलेका जनप्रतिनिधीले गरेका कामबाट सन्तुष्ट हुने ठाँउ नभएको भन्दै सामाजसेवी तथा नेकपा माओबादी केन्द्रका नेता भिम कुमालले भने– ‘पारदर्शी ढंगबाट काम भएको छैन् । बजेट कति आयो, कति खर्च भयो भनेर जनतालाई जानकारी दिनुपर्यो, साथ साथै काम गर्नुपर्यो । अनि मात्रै त्यसको परिणाम देखिन्छ् । अहिले भएका जनप्रतिनिधीले यसप्रति ध्याननै दिएका छैनन् ।’ शिक्षा, स्वास्थ्य तथा कृषी उत्पादन तथा बजारीकरणको क्षेत्रमा पनि स्थानिय जनप्रतिनिधीले काम गर्न आवश्यक भएको उनले बताए ।







