अपाङ्गता भएका व्यक्तिको घरदैलोमा कोरोना विरुद्धको खोप


राजेन्द्र पनेरु/कञ्चनपुर : अपाङ्गता भएका व्यक्तिको घरदैलोमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । लुथेरान विश्व महासंघको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघको समन्वयमा जिल्लाका नौ वटै स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।आकस्मिक सहायता आयोजना अन्तर्गत कोरोना प्रभावित क्षेत्रमा कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको आयोजना अधिकृत मीन हुड्केले बताए । उनले शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर र दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका १ हजार २ सय अपाङ्ग तथा जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको बताए ।

‘सम्बन्धित नगरपालिकासँगको समन्वयमा अपाङ्गता भएका ज्येष्ठ नागरिक, ‘क’ र ‘ख’ वर्गको परिचयपत्र भएका व्यक्तिलाई खोप लगाउन अभियान चलाएको छ,’ हुड्केले भने । खोप दिने व्यक्तिको पहिचान गरी घरमै खोप लगाउने व्यवस्था मिलाइएको उनले बताए । अपाङ्गता भएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू खोप केन्द्रमा पुग्न सक्दैनन्। खोप कार्यक्रमबाट कोही पनि बञ्चित नहोस् भन्ने उद्देश्यले हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ,’ उनले भने ।

पाँच नगरपालिकाका अपाङ्गता भएका र जेष्ठ नागरिकलाई पहिलो चरणको खोप लगाउने काम सम्पन्न भइसकेको जानकारी दिँदै उनले बाँकी भीमदत्त, वेदकोट र बेलौरी नगरपालिका र बेलडाँडी गाउँमा अभियानको तयारी भइरहेको बताए । उनले अपाङ्गता भएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको पहिचान गरी तथ्याङ्क उपलब्ध गराउन महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेको बताए । दुई सय अपाङ्गता भएका र जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेको हुड्केले बताए । उनका अनुसार अभियानमा बृहत् अपाङ्गता विकास समाज नेपालले प्राविधिक सहयोग गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img