कञ्चनपुर : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका स्थित रैकवार बिचवाका बाढी प्रभावित बासिन्दाहरुले बाढी प्रभावित भएको एक महिना भन्दा पनि बढी समय गैसकेपछि बल्ल राहात पाएका छन । रैकबार बिचवाका झण्डै सात सय परिवारलाइ जनउत्थान लघुबित्त सहकारी संस्था लि. ले राहात उपलब्ध गराएको हो । संस्थाले चामल दाल नुन तेल साबुन लगायतका खाद्यान्न बितरण गरेको छ ।

केही मात्रामा भएपनि राहात उपलब्ध भएकोमा खुसि व्यक्त गर्दै बाढी प्रभावित बासिन्दाहरुले सरकारले पनि राहात संगै मल बीउ उपलब्ध गराउनुपर्ने माग गरका छन । बाढीले गर्दा आफुहरुको घर खेतमा रहेको सबै खाद्यान्न नष्ट भएको भन्दै संस्थाले दिएको थोरै राहातले केही समय चलेपनि मल बीउको समस्या टडकारो रहेको उहाहरुको भनाइ रहेको छ ।

संस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माले थोरै भएपनि बाढी प्रभावितहरुको घाउमा मलम लगाउन आफुहरुले राहात बितरण गरेको बताउनुभएको छ । बाढी प्रभावितहरुलाइ सबैले सहयोग गर्नुपर्ने भन्दै न्युन आयश्रोत भएका व्यक्तिहरुको आर्थिक उपार्जन र रोजगारीका लागि पनि संस्थाले काम गरिरहेको बताउनुभएको छ । आफनो समुहमा आबद्ध भएका बाढी प्रभावितहरुलाइ संस्थाले राहात उपलब्ध गराएको छ ।







