कञ्चनपुर: कञ्चनपुरका बाढीपीडितलाई खाद्यान्न वितरण गरिएको छ । आर्दश महिला समाज नेपालले टेवा संस्थाको आर्थिक सहयोगमा भीमदत्त नगरपालिका १३ पिपरैयाका महाकालीका बाढीपीडितलाई राहत वितरण गरेको हो । आर्दश महिला समाज नेपालले बाढी प्रभावित जनतालाई खाद्यान्न अभाव हुन नदिनका लागि शुक्रबार बस्तीमै पुगेर राहत वितरण गरेको छ ।

आर्दश महिला समाज नेपाल कञ्चनपुरका अध्यक्ष माया नेगीले टेवा संस्थाको आर्थिक सहयोगमा ९७ बाढीपीडित घर परिवारलाई खाद्यान्नका साथै लत्ता कपडा समेत वितरण गरेको बताईन । अध्यक्ष नेगीका अनुसार आधारभूत आवश्यकताका खाद्य बस्तु चामल, दाल, नुन,तेल लगायत लत्ता कपडा वितरण गरेको बताईन । ‘हामीले जनप्रतिनिधीसंग सहकार्य र वडा विकास संस्थाका पदाधिकारीको उपस्थितिमा खाद्यान्न वितरण गरेका हौँ, ‘उनले भने, ‘बाढीपीडितलाई केही राहतका लागि खाद्यान्न समाग्री दिएका छौँ ।’

आर्दश महिला समाज नेपालका अध्यक्ष स्वयम माया नेगी, सचिव रुक्मा नाथ, सदस्य मञ्जु डगौरा सहितले राहत वितरण गरेका थिए । राहत पाएका पीडितले सरकारी स्तरबाट राहत नपाएपनि आदर्श महिला समाज नेपालले राहत दिएको भन्दै खुसी व्यक्त गरेका छन ।







