कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले ब्लड बैंक संचालनका लागि रेडक्रसलाई चार लाख रुपैया आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिकाले मंगलबार एक कार्यक्रमका विच नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरलाई ब्लड बैंक संचालनका लागि चार लाख रुपैया आर्थिक सहयोग गरेको हो । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई चार लाखको चेक हस्तान्तरण गरेका छन ।

भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले हरेक बर्ष रेडक्रसलाई रगत बैंक संचालनका लागि नगरपालिकाका तर्फबाट आर्थिक सहयोग गर्दै आएको बताए । ‘हामीले चुनावका बेला जनताको स्वास्थ्यका लागि चुनावी प्रतिबद्धता गरेका थियौँ, ‘प्रवक्ता चन्दले भने, ‘त्यही कार्यक्रमको निरन्तरता हो ।’ भीमदत्त नगरपालिकाले ०७४ सालदेखि रेडक्रसलाई रगत अभाव हुन नदिनका लागि निरन्तर आर्थिक प्याकेज सहयोग गर्दै आएको छ । ‘रगतको अभावले कुनै पनि नागरिक उपचारबाट बञ्चित हुन नपरोस, ‘प्रवक्ता चन्दले भने, ‘हामीले निःशुल्क रगतका लागि रेडक्रसलाई रकम उपलब्ध गराएका हौँ ।’ भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले स्वास्थ्यका लागि सहयोग गरिएको बताए । उनले आर्थिक समस्याले कसैले पनि ब्लडबाट बञ्चित नहुन भन्ने उद्देश्यका साथ नगरपालिकाले सहयोग रकमलाई थप बढाएको समेत बताए ।

नगरपालिकाको सहयोगपछि रेडक्रसले निशुल्क रुपमा बिरामीलाई रगत उपलब्ध गराउदैँ आएको छ । चेक ग्रहण गदैँ नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले नगरपालिकाले गरेको सहयोगबाट ब्लड बैंक संचालनमा ठुलो सहयोग पुग्ने बताए । स्थानीय तहले ब्लड बैंकका लागि गर्ने सहयोगमा भीमदत्तले सबैभन्दा बढी रकम उपलब्ध गराउदैँ आएको छ ।







