दोधारा । दोधारा चाँदनी नगरपालिकामा आएको बाढीको कारण किसानहरुको खेती योग्य जग्गा नदीले कटानी गर्दै आएको छ् । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाकाका स्थानिय किसानहरुको खेती योग्य जग्गा कटानी गर्दै आएको स्थानियहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० को कुतियाकवरका झण्डै २० बिघाह भन्दा बढी खेती योग्य जग्गा महाकाली नदीले कटानी गर्दै आएको स्थानियबासी मोतीराम सुनारले बताएका छन् । महाकाली नदीले स्थानिय किसान खड्क बुढा, धन बहादुर सुनार, गगन खत्री, ऐन बहादुर सुनार, तुल बहादुर सुनार, करे सुनार, मंगली देबि खत्री, जितु खत्री, लिला देबि खत्री, कले खत्री, लाल बहादुर खड्काको धान खेती नदीले कटान गरेको बताएका छन् । महाकाली नदीले उनिहरुको बाँकी रहेको जग्गा समेत कटानी गर्दै आएको उनिहरुले बताएका छन् । नदीको भंगोलो बस्तीमा पसेपछि कुतियाकवरबासीको घरमा भएको सबै थोक बगाएर लग्नुको साथै दर्जर्नौ किसानहरुको चौपायाको मृत्यु भएको हो । बाढीको कारण कुतियाकवर बस्ती मात्र नभई दोधारा चाँदनी नगरपालिका वडा नं. १० को शान्ती टोल, बैतिफाँटा, सुर्खेती टोल, प्रधान टोल लगाएत बस्तीहरुमा किसानका खेती योग्य जग्गामा नदीले बालुवा भरिएर बगर बनाएको हो । बाढीले घरमा भएको र खेतमा भएको सबैथोक बगाएपछि अबका दिनहरु कसरी छाक टार्ने भन्ने चिन्ताले सताएको स्थाीनयबासी माया देबि सुनारले बताएका छन् । नगरपालिका र संघ–संस्थाले दिएको थोरै राहतले घरपरिवारमा छाक टार्न समस्या भईरहेको बेला उनिहरुले नदीले बालुवा भरिएको आफ्नो जग्गामा फेरी कसरी खेती योग्य जग्गा बनाउन सकिने भन्ने सरकारलाई प्रश्न तेस्राएका छन् । प्राकृतिक विपत्ती कसैले टार्न सक्दैन । तर विपत्तिको सामना गर्न सक्ने क्षमता राज्यले बनाउन सक्छ् । नेपाल जस्तो आर्थिक रुपले जर्जर हुदै मुलुकले कोरोना महामारीमा जनस्वास्थ्यका सवाल सम्बोधन गर्न नसकिरहेका बेला बाढी तथा दैवी विपत्तीको सामना गर्न निकै चुनौतीपूर्ण त हुनेनै छ् । बाढीजन्य विनाशको बढोत्तरी जनप्रतिनिधीको ‘विकास गरेको देखाई भोट तान्ने मोह’ भएको स्थानियहरुको भनाई रहदै आएको छ् ।







