कञ्चपुर : ज्योतिष विद्यामा अति आवस्यक पर्ने पञ्चाङ्ग गणितको प्रशिक्षण हुने भएको छ । विश्व पञ्चाङ्ग निर्णय संघको सहयोगमा आगामी मसीर १ गतेदेखि पोखरा म. न. पा.–२, विन्ध्यवासिनी मिरुवामा “पञ्चाङ्ग गणित प्रशिक्षण– २०७८“ सञ्चालन हुने भएको हो । एक महिनाभर प्रातः (७ः००–४ः३० ए. एम.) र सायम् (३ः००–५ः३० पि. एम.) गरी दुई (२) सिटमा सञ्चालन हुने प्रशिक्षणमा मूल सूर्य सिद्धान्त तथा सूर्य सिद्धान्तीय “महाकालेश्वर पञ्चाङ्ग सारिणी बाट पञ्चाङ्ग गणितको प्रशिक्षण दिइने छ भने फलित ज्योतिषको समेत प्रशिक्षण संचालन हुनेछ प्रशिक्षणको मुख्य उद्देश्य भनेको दक्ष पञ्चाङ्गकार उत्पादन गर्ने, ज्योतिषीहरूको श्रीवृद्धि र वौद्दिक / प्राज्ञिक उन्नयनको विकास गर्ने रहेको छ । प्रशिक्षणका मुख्य विषयवस्तुहरुमा ग्रह स्पष्टीकरण (मूल सूर्य सिद्धान्त तथा सारिणीबाट), पञ्चाङ्ग गणित, ग्रह सञ्चार उदयास्त बक्री, मार्गी, ग्रहण गणित, व्रतका पर्वहरुको बारेमा प्रष्ट पारिने रहेको छ ।

ग्रह लाघव, सूर्य सिद्दान्त, केतकी गणितम्, ज्योतिर्गणितम् भास्वती, महाकालेश्वर सारिणी सूर्य सिद्दान्त सारिणी, मकरन्ध सारिणी, रामविनोद सारिणी जस्ता ग्रन्थहरुको आधारमा प्रशिक्षण दिइने पञ्चाङ्ग निर्णय संघ केन्द्रीय समिति, काठमाडौंका सह सचिव ज्यो हरिश्चन्द्र भण्डारीले जानकारी दिनु भयो । प्रशिक्षण कार्यक्रमको मुख्य प्रशिक्षकहरुमा ज्यो. गोविन्द सापकोटा (सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय), भिजिटिङ प्रशिक्षक ज्यो. नारायण प्रसाद नेपाल (नेपाल पञ्चाङ्ग), भिजिटिङ प्रशिक्षकः पं. ज्ञान प्रसाद भण्डारी (मुक्तिनाथ पञ्चाङ्ग), भिजिटिङ प्रशिक्षक ज्यो. पं. माधव प्रसाद सापकोटा (शुकदेव भागवत पञ्चाङ्ग) रहनुहुने भएको छ । प्रशिक्षणमा सहभागी हुन चाहानेहरुले २०७८÷०७÷०१ बाट २०७८ /०७/२० सम्ममा नाम दर्ता समेत गराउन सकिने व्यवस्था गरिएको छ सुवेदी समाज भवन, पोखरा म.न.पा. २, मिरुवामा हुने ज्योतिष प्रशिक्षणमा भाग लिन ज्योतिष सम्बन्धि रुचि राख्ने सम्पूर्णलाई आयोजकले अनुरोध समेत गरेको छ । बाहिर जिल्लाबाट पाल्नुहुने प्रशिक्षार्थिहरुका लागि आवास कोठाहरु भाडा वर्तन र किचन कोठाहरु उपलब्ध गराइएको छ भने यसको व्यवस्थापकीय जिम्मा पोखरा स्थित सचिवालयलाई रहेको ज्यो भण्डारीले जानकारी दिनु भयो । अन्य जानकारीका लागि निम्न ४८४६०३९२४५ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

मँसीर १ गते दिवा ११ः०० वजे कार्यक्रमको उद्घाटन हुने र सो अवसरमा मुख्य प्रशिक्षक ज्यो. गोविन्द सापकोटा ज्यू द्वारा सम्पादित सूर्य सिद्दान्तीय “महाकालेश्वर पञ्चाङ्ग सारिणी“ को लोकार्पण÷ विमोचन गरिने जानकारी विश्व पञ्चाङ्ग निर्णय सँघ, काठमाण्डौका सह–सचिव ज्यो. हरिश्चन्द्र भण्डारीले जानकारी गराउनु भएको छ। साथै विभिन्न जिल्लाबाट इच्छुकहरूले सम्पर्क गरी नाम दर्ता गराइरहनु भएको छ। सो अवसरमा फलित ज्योतिषमा ज्योतिषशाश्त्रको व्यावहारिक पुस्तक “सरल पाङ फलित भाग–१“ लगाएतका पुस्तकहरूबाट प्रशिक्षण दिइने बताइएको छ।







