दामोदर अर्याल/काठमाडौं : विभागिय टोली एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड क्लब वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधीका लागि पुनः भिड्ने भएका छन् । पाँचौ संस्करणमा पनि दुई टोली विच उपाधीका लागि भिडन्त भएकोमा एपिएफले बाजी मारेको थियो । शुक्रबार सम्पन्न निकैनै प्रतिस्पर्धात्मक खेलमा बिभागिय टोली एपिएफले अर्को बिभागिय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३ – २ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । एपिएफले पहिलो सेट २७–२५ले आफ्नो पक्षमा पारेको थियो । दोश्रो सेट २१–२५ ले गुमाउन पुगेको एपिएफ तेश्रो सेट पनि २५–२७ ले गुमाउन पुग्यो । हारको नजिक पुगेको एपिएफ आफुलाई सम्हाल्दै चौथो सेटमा २६–२४ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा पु¥याउन सफल भयो । अन्तिम तथा निर्णायक सेटमा एपिएफले १५–१३ ले आफ्नो पक्षमा पार्दै कठिन फाईनल यात्र तय ग¥यो ।

यस्तै दोश्रो खेल पनि निकैनै रोमाञ्चक रह्यो । होङ्गवान्जी न्यू डायमण्डले पुलिस माथि ३–२ को जित निकाल्दै उपाधीका लागि चिरप्रतिद्वन्दि एपिएफ संगको भेट पक्का ग¥यो । पहिलो सेट १८–२५ ले पुलिसलाई सुम्पेको डायमण्डले दोश्रो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो । यस्तै पुन तेश्रो सेट २१–२५ ले पुलिसलाई सुम्पन पुगेको डायमण्ड चौथो सेटमा सम्हालिंदै २५–१७ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा पु¥याउन सफल भयो । तेश्रो तथा अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै डायमण्ड उपाधीको निकट पुग्यो । चैत्र महिनमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् । च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले २ लाख र तेश्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।

पविन र सुरोजको जोडी क्वाटरफाईनलमा
आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को क्वाटरफाईनलमा प्रवेश गरेका छन् । आयोजक टोलीले शुक्रबार सम्पन्न खेलमा ठेचो ब्याडमिन्टन क्लबका बिशाल बस्नेत र ईन्द्र कार्कीको जोडी २१–१५, २१–१६ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका हुन् ।

आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा प्रयाग पोखरी ब्याडमिन्टन क्लबका उज्वल दाहाल र सृजन ताम्राकारले जोडीले पनि जित निकाल्यो । उक्त जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्टस्का राजु घिमिरे र प्रविन कार्कीको जोडीलाई २१–१७, २१–१२ ले पराजि गदै क्वाटरफाईनलमा स्थान बनाए । यस्तै क्वाटरफाईनलमा स्थान बनाउने क्रममा आयोजकका दिपन महर्जन र भुवन श्रेष्ठको जोडीले क्लब ७ का बिकास महर्जन र प्रदीप महर्जनको जोडीलाई २१–११, २१–१६ तथा दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्टस्का तिर्थराज दर्लामी र दिपेश गुरुङ्गको जोडीलाई २१–५, २१–१३ ले, ११ स्टारका राजु बज्राचार्य र आकाश छन्त्यालको जोडीले आयोजकका जेम्स अवाले र राजेन्द्र महर्जनको जोडीलाई २१–१४, २१–१९ले, तथा आयोजकका दिपेश शाक्य र सुनिल शाक्यको जोडीले रिभाईभ लिजर पार्कका राम के.सी. र अजय थापाको जोडीलाई २१–८ को समान अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।
भेट्रान्स ४५ माथीको प्रतियोगितामा श्रीकृष्ण ब्याडमिन्टन क्लबका सुरेश बस्नेत र सिताराम श्रेष्ठको जोडी, महालक्ष्मी टोल बिकासका रञ्जित घतानी र रामु ताम्रकार, आयोजकका हरि महर्जन र रवी महर्जन, इमाडोल ब्याडमिन्टन स्पोर्टसका तिलक बुढाथोकी र दील बहादुर कदङ्गवा, आयोजकका किशोर ब्याञ्जनकार र दिलन महर्जन, फ्रेन्डसिप ब्याडमिन्टन क्लबका सानुबाबु महर्जन र राजकुमार राजकर्णिकार, सनराईज ब्याडमिन्टन क्लबका दीपक राना र टिका थापा तथा आयोजकका पूर्णभक्त चित्रकार र सुगत रत्न शाक्यको जोडीले पनि अन्तिम आठमा स्थान बनाए । प्रतियोगिताको फाईनल खेल भोली शनिबार हुने कार्यक्रम रहेको छ ।
