दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा घरबाट हराएका वालक मृत अवस्थामा फेला परेका छन् । लाल बहादुर बुढाका छोरा वर्ष ५ का शिशिर बुढा असोज ९ गते अपरान्ह ५ बजेबाट घरबाट सम्पर्क विहीन भएका र आज घर पछाडीको आकाशको पानी जमेको तालमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भई रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट दोधारा चाँदनीका प्रहरी निरिक्षक कृष्ण बोहराले जानकारी दिएका छन् । घरमा रहेका शिशिर खेल्दै गर्दा असोज ९ गते देखि सम्पर्क विहीन भएका बालकको प्रहरी र स्थानीय सहित आफन्तहरूले विभिन्न स्थानमा र घर पछाडिको नालामा समेत खोजी गरेको तर आज त्यही स्थानमा मृत भेटिनुले हत्या भएको परिवारजनले आशंका गरेका छन् । हराएको घर देखि झण्डै २ सय मिटर पश्चिम दिशा तर्फ तालमा उनको शव फेला परेको बताईएको छ् । खबर पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आफन्त र स्थानियहरु घट्नास्थलमा पुगेका थिए । शवलाई पोष्टमार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा ल्याउने तयारी भईरहेको स्थानियहरुले बताएका छन् ।