कञ्चनपुर : माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन रोकथामका लागि गाँउ बस्तीमा घरदैलो तथा छलफल कार्यक्रम संचालन गरेको छ । माईती नेपाल कञ्चनपुरले जिल्लाका सीमावर्ती गाँउ बस्तीमा घरदैलो तथा छलफल कार्यक्रम संचालन गरेको हो । ‘सामाजिक क्षेत्र राष्ट्रिय गौरव, आजको आवश्यकता, नतिजामुखी कार्यक्रमका लागि भौगोलिक तथा विषयगत क्षेत्रको प्राथमिकता’ भन्ने मुल नाराका साथ ४२ औं सामाजिक सेवा दिवस, विभिन्न क्षेत्रका सरोकारवाला व्यक्ति र प्रहरीसंग मानव बेचबिखन तथा ओसारपसार विरुद्ध छलफल तथा सचेतनामुलक घरदैलो कार्यक्रम गरेको छ ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भारतसंग सीमा जोडिएको कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रमा मानव बेचबिखन सचेतना कार्यक्रम संचालन गरिएको बताईन । छलफल कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था दलालहरुले अपनाउने नयां नयां तौरतरिकाहरु लगायत मानव बेचबिखन जस्तो जघन्य अपराधले समाजमा पारेको प्रभावका बारेमा गहन छलफल गरि अपराधिक गतिविधिमा संलग्न दलालहरुको जालो समाजको प्रत्येक क्षेत्रमा फैलिदै गएको हुदां उक्त मानवता विरोधी अपराध लगायत मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण तथा निर्मुलीकरण गर्न सम्पुर्ण सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट सहयोग र समन्वय गरी माइति नेपाल संग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रहरी चौकी झोलुङ्गे पुलका ईन्चाज प्रताप बहादुर थापा मगले प्रहरी प्रशासनले अपराध न्युनिकरणका लागि सदैव तत्पर रही कार्य गर्दै आएको बताए । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिलाई पहिचान गर्न थोरै कठिनाइ रहने भएपनि मानव बेचबिखन जस्तो जघन्य अपराध न्युनिकरणका लागि माइति नेपालसंग समन्वय र सहकार्यमा सदैव काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । दोधारा चांदनी नगरपालिका वडा नंं. ३ का अध्यक्ष पुष्कर दत्त जोशीले पछिल्लो समयमा माइति नेपाल दोधारा चांदनी नगरपालिकामा पनि आफ्नो सुचना तथा परामर्श केन्द्र स्थापना गरि काम गर्दै आएको र बेचबिखन तथा ओसारपसारका घट्नाहरु कम हुदैं आएको आभाष सम्पुर्ण स्थानियहरुले गरेका छन् । माइति नेपालले गर्दै आएको कार्यको प्रशंसा गर्दै आगामि दिनमा पनि मानव बेचबिखनको क्षेत्रमा सक्रिय भएर काम गर्न अनुरोध गर्दै स्थानिय सरकारले गर्न सक्ने सहयोग पुर्णरुपमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीय समाजसेवी एवम् होटेल व्यवसायी राम बहादुर बोहराले नेपालमा अशिक्षा, खुला नाका, बेरोजगारीका कारण विभिन्न अपराधिक घट्नाहरु बढ्दै गएको अवस्थामा मानव बेचबिखन जस्तो जघन्य अपराध पनि बढ्दै गएको छ । उक्त समस्यालाई कुनै एक व्यक्ति वा एकतह तप्काको समस्या हो भनेर नलिई सम्पुर्ण मानवको समस्या हो भनि प्रत्येक व्यक्तिले समाजलाई सचेत पार्न जिम्मेवारी लिनुपर्ने आवश्यकता देखिएको छ । छलफल कार्यक्रम लगत्तै प्रहरी प्रशासनसंगको समन्वय र सहकार्यमा भीमदत्त नगरपालिका १३ का विजय टोल र सुनापुर टोलका ७० घरधुरीमा मानव बेचबिखन तथा ओसारपसार, घरेलु हिंसा, बाल विवाह, कोरोना भाइरस, सुरक्षित बसाईसराईका बारेमा घरघरमा गई स्थानियहरुलाई यस्ता अपराधिक क्रियाकलाप विरुद्ध सचेत पार्दै यस्ता घट्ना घटेको खण्डमा माइति नेपाल तथा प्रहरी प्रशासनलाई तुरुन्त खबर गर्नुपर्ने जस्ता कानुनी पाटो बारे जानकारी प्रदान गरी सचेतनामुलक पर्चा पम्पलेटहरु वितरण गर्दै जनचेतनामुलक घरदैलो कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा १९३ महिला, २३८ पुरुष, १११ बालक र ६८ बालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका थिए ।
