कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा ऐलानी जग्गा नापजाँच शुरु भएको छ । आइतबार भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि जग्गा नापजाँचको उद्घाटन गरेका छन । भूमि आयोग मार्फत भीमदत्त नगरपालिकामा यस अघि भूमिहिन, सुकुमबासी एव भूमिहिन दलित परिवारको तथ्याङ्क संकलन गरेको थियो । संकलन गरिएको सबै तथ्याङ्कको निस्सा लगाउने काम सम्पन्न पछि नगरपालिकाले अब नगर क्षेत्रको ऐलानी जमिन नाँपजाँच गरेर भूमिहिन दलित, भूमिहिन सुकुमबासी अव्यवस्थित बसोबासीलाई जमिन दिलाउनका लागि काम शुरु भएको हो ।
भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले नगरका सबै भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँदै लालपुर्जा दिलाउनका लागि काम शुरु भएको बताए । ‘हाम्रो नगरमा भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीका लागि जमिन नाप्ने काम शुरु भएको छ, ‘प्रवक्ता चन्दले भने, ‘अब सबै जनतालाई लालपुर्जा दिलाउँछौँ ।’ जग्गा नाप नक्साङकन उद्घाटन गदैै भीमदत्त नगरका नगर प्रमुख सुरेन्द्र विष्टले संविधानमा उल्लेख भए अनुरुप सबै नागरिकलाई जमिनको मालिक बनाईने बताए । विगतमा चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप काम अघि बढाईने बताउदै मेयर विष्टले अब कुनैपनि नागरिक जमिनको मालिक मात्रै बन्ने बताए । नगरका १९वटै वडाहरुका नागरिक अब लालपुर्जाधारी हुनेछन ।
मेयर विष्टले आवश्यक प्रकृया सबै अघि बढाएर यथाशिघ्र भूमिहिन नागरिकलाई लालपुर्जाको मालिक बनाउने बताए । यसैविच मेयर विष्टले गरिब, विपन्नका लागि निर्माण भएको आवास समेत हस्तान्तरण गरिएको छ । उद्घाटन तथा हस्तान्तरण कार्यक्तममा भीमदत्त नगरका जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो । भीमदत्त नगरपालिकाले भूमिहिन, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको काम शुरु भएसंगै बषौँदेखि लालपुर्जा र जमिन विहिन नागरिक अब जमिनको स्वामित्व पाउने भएपछि हर्षित भएका छन ।






