कञ्चनपुर: भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले किसानलाई निःशुल्क घाँसका बिरुवा वितरण गर्दै छ । पशु चौपायाका लागि आहाराको कमि हुन नदिन र उत्पादन बृद्धिका लागि चालु आर्थिक बर्षमा घाँसका बिरुवा वितरण गर्न लागेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत एव सुचना अधिकारी शंकर दत्त जोशीले चालु आर्थिक बर्षको जेठ दोस्रो सातादेखि किसानलाई निःशुल्क विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको बताए ।
‘हामीले पशु चौपायाको आहारा र दुध र मासु उत्पादन बृद्धिका लागि विभिन्न पोषणयुक्त रुख हुने तथा घाँसका बिरुवा वितरण गरिरहेका छौँ, ‘उनले भने, ‘दैनिक किसान आउँछन, लैजान्छन ।’सूचना अधिकारी जोशीका अनुसार असार अन्तिम सातासम्मा ५ सय भन्दा बढि किसानले बिरुवा लगिसकेका छन । उनका अनुसार घुई तथा रुखमा हुने विभिन्न प्रजातिका पोषणयुक्त बिरुवा जस्तै ईन्दु, भटमासे, मेन्दोला, ईपिलईपिल,टाँकी, बहुबर्षिय सुपरनेपियर घाँस वितरण गरिएको छ ।

निःशुल्क घाँस पाएपछि व्यवसायिक तथा गैर व्यवसायिक रुपमा पशुपालन गरेका किसान हर्षित भएका छन । भीमदत्त नगरपालिका ८ तिलाचौरमा बाख्रा पालन गरेका प्रेम खडायतले निःशुल्क घाँस पाएसंगै बाख्राको आहाराका लागि राहत पुग्ने बताए । बेदकोट नगरपालिका ८ का गैलनदीका खडक लुहारले बिरुवाका बोट पाएसंगै पशु आहाराका लागि सहज हुने बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा. पानसिह ठगुन्नाले पशुपन्छीको पोषिलो आहाराका लागि आधुनिक नर्सरी बनाएर थप स्तरिय बनाईने योजना रहेको बताए । ‘हामीले अहिले पनि नर्सरी बनाएर बिरुवा वितरण गरिरहेका छौँ, ‘उनले भने, ‘अब पनि थप स्तरिय बनाउँदै लैजान्छौँ ।’







