बेलौरी : आफ्नो कार्यकालको सुरुवाती चरणबाटै लागुऔषध शून्य पार्ने संकल्प सहित अघि बढेका ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले अहिलेसम्मकै रेकर्ड तोडेका छन् । उनको कमाण्डमा खटिएको प्रहरी नेतृत्वले चालू आर्थिक वर्षमा लागुऔषधमा १९ मुद्दा दर्ता गरि ३८ जनालाई नियन्त्रणमा लिन सफल भएका हुन् । भयानक सफलतासंगै पछिल्लो ३ दिनको अवधिमा मात्रै ४२.२२ ग्राम लागु औषध सहित ७ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक खड्काको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले मंगलबार साँझ बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ता बजारबाट दुई जनालाई पक्राउ गरेको थियो ।

बजारमा से ६ प ८०९९ नम्बरको मोटरसाइकलमा सवार गरेका कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट बस्ने २४ वर्षीय लाल बहादुर ऐर र २२ वर्षीय चन्द्र बहादुर साउदलाई चेकजाँच गर्दा मोटरसाइकलको पछाडि सिट मुनी लुकाइछिपाई राखेको अवस्थामा ७.७६० ग्राम लागु औषध (खैरो हेरोइन) बरामद गरेको हो । सोही दिन फेरि सु प प्र ०२–००३ प ६७२४ नम्बरको मोटरसाइकलमा सवार कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी मुक्ति शिविर बस्ने २४ वर्षीय महेश चौधरी र लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्ज बस्ने २५ वर्षीय रण बहादुर चौधरीलाई समेत १२.३५ ग्राम लागु औषध (खैरो हेरोइन) सहित बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरबाट पक्राउ गरेको बेलौरीका प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

यसअघि सोमबार दिउँसो पनि सुप प्र ०१–००८ प ८५९ नम्बरको मोटरसाइकलमा रहेका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा बस्ने २८ वर्षीय सुरेन्द्र बिष्ट र सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष रानालाई चेकजाँच गर्दा ९.०८० ग्राम लागु औषध( खैरो हेरोइन ) सहित बेलौरी नगरपालिका- ८ पचुंई स्थित सीमा क्षेत्र नजिकैबाट पक्राउ परेका थिए। त्यस्तै अझै आइतबार साँझ पचुंई बस्ने ३० वर्षीय हरिकृष्ण रानालाई सोही ठाउँबाट १३.०३ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको थियो । यस अवधिमा पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए । ईलाका प्रहरी कार्यालय बेलौरीले अहिले सम्म पक्राउ परेका व्यक्तिहरुबाट खैरो हेरोईन २३८.६२ ग्राम, नाईट्राभेट २२० ट्याब्लेट, प्रेगास्टर १४ ट्याब्लेट, कफट्याब डि ८७ ट्याब्लेट, चरेश २.५७० ग्राम, SPASMO-PROXYVON-PLUS लेखेको १६ क्याप्सुल बरामद गरेको हो।

