धिरेन्द्र धामी/ कञ्चनपुर

पुर्ब खानेपानी मन्त्री बिना मगरले कोरोना संक्रमणका कारण भैरहेको अक्सिजनको अभाव पुर्ती गर्नका लागि २० लाख रकम प्रदान गर्नुभएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्य रहनुभएकी पुर्ब खानेपानी मन्त्री मगरले स्थानिय पुर्बाधार विकास कार्यक्रम अन्तरगतको सांसद कोषको रकमलाइ रकमान्तर गरेर अक्सिजन आपुर्तीका लागि सहयोग गर्नुभएको हो । उक्त रकम बेलौरी नगरपालिकामा निर्माण हुने अक्सिजन प्लान्ट निर्माण संगै सोही क्षेत्रमा आवश्यक अक्सिजन सिलिण्डर खरिदमा खर्च गरिने छ ।

बेलौरी नगरपालिका,पुनर्वास नगरपालिका, लालझाडी गाउपालिका र बेलडाडी गाउपालिकाले बेलौरीमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गरेका छन । चार वटा पालिकाहरुको यहि योजनामा पुर्ब मन्त्री मगरले सहयोग गर्ने भएकी छन । जिल्ला सदरमुकाम दक्षिणी भेगबाट टाढा पर्ने भएका कारण अक्सिजनको छिटो र सहज आपुर्तीका लागि प्लान्ट निर्माण गर्ने निर्णयमा पालिकाहरु पुगेका हुन ।

कोरोना संक्रमणको महामारीका बेला जनताहरुलाइ अक्सिजनको अभाव नहोस भन्नका लागि अक्सिजन आपुर्तीका लागि सहयोग गरेको भन्दै पुर्ब मन्त्री मगरले आवश्यकताअनुरुप थप सहयोग गर्ने बताउनुभएको छ । आफै कोरोना संक्रमणको चपेटामा परेका कारण समयमै रकम पठाउन नसकिएको भन्दै स्वास्थ्य संस्थाहरुमा हुने स्वास्थ्य सामग्रीहरुको आपुर्तीका लागि समेत आफु लागिपरेको बताउनुभएको छ । कोरोना संक्रमणको अवस्था कायमै रहेकोले यसबाट सचेत रहन समेत उहाले स्थानिय बासिन्दाहरुमा अपील गर्नुभएको छ ।






