ओलीलाई सुदूरपश्चिमबाट झट्का


कैलाली: ओली नेतृत्वको एमालेले गरेको निर्णय नेपाल समुहका संसदबाट ठाडै अस्वीकार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय कैलाली नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको दलको बैठकले तत्कालका लागि समर्थन कायमै राख्ने निर्णय गरेको हो । अहिले समर्थन कायम राखेर दीर्घकालीन रूपमा सरकार परिवर्तनका लागि प्रदेश सभामा रहेका सबै राजनीतिक दलहरूसँग संवाद गर्ने निर्णय पनि बैठकले गरेको सांसद पूर्णा जोशीले जानकारी दिइन् । ‘एमालेले समर्थन फिर्ता लिएमा तत्कालै नयाँ सरकार बन्न सक्ने अवस्था छैन ।

कोरोना महामारीको अवस्था र छिट्टै बजेट ल्याउनुपर्ने भएकाले पनि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको छ,’ जोशीले भनिन् । एमाले स्थायी समिति बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारका रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गत सोमबार गरेको थियो । उक्त निर्णयबारे आधिकारिक जानकारी प्राप्त नभएको जानकारी संसदीय दलका नेता प्रकाशबहादुर शाहले बैठकमा गरेका थिए । बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै नेता शाहले समर्थन फिर्ता नलिएसम्म समर्थन कायमै रहेको बुझ्नुपर्ने बताए । पार्टीले समर्थन फिर्ता लिएकोबारे आधिकारिक जानकारी आफूहरूले नपाएको उनले बताए । ‘पार्टीले समर्थन फिर्ता लिने निर्णय सामाजिक सञ्जालहरूबाट थाहा पाएका छौँ । आधिकारिक जानकारी आएको छैन,’ उनले भने, ‘आधिकारिक जानकारी आए थप निर्णय गर्छौँ ।’ आवश्यक परेको अवस्थामा समर्थन फिर्तालगायत दलमा पदाधिकारी नियुक्तिको अधिकार बैठकले दलको नेता शाहलाई दिएको छ ।

बैठकमा ओली पक्षका सांसदले भने पार्टीको निर्णयअनुसार समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका थिए । पार्टीको निर्णयअनुसार सरकारको समर्थन फिर्ता लिनुपर्ने विषय आफूहरूले उठाएको ओलीनिकट सांसद पठानसिंह बोहराले बताए । ‘बैठकमा निर्णयको मस्यौदाका रूपमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने भनेर सुनाइयो । हामीले पार्टीको निर्णय र एमाले प्रदेश सभामा ठूलो दल भएकाले समर्थन कायम राख्नु आवश्यक छैन भन्यौँ,’ पूर्वमन्त्रीसमेत रहेका बोहराले भने, ‘केन्द्रको निर्णय स्वीकार नगर्ने मनस्थिति उहाँहरू ९खनाल–नेपाल समूह० मा देखियो ।’ ५२ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ जना छन् । तीमध्ये खनाल–नेपाल समूहका १८ जना प्रदेश सभा सदस्य छन् ।

संसदीय दलको नेता र प्रमुख सचेतकमा पनि नेपालनिकट छन् । माओवादी नेता मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेबाट तीनजना मन्त्री छन् । आन्तरिक मामिला तथा कानुन प्रकाशबहादुर शाह, मन्त्री शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट एमालेबाट मन्त्री छन् । उनीहरू तीनैजना नेपालनिकट हुन् । शाहले अहिले आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । ओली पक्षनिकट भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री भट्टले गत पुसमा बर्खास्त गरेका थिए । दलको बैठकमा २१ जनाको उपस्थिति रहेको थियो । धनगढीबाहिर रहेकाले ओली पक्षका रतन थापा, ग्याल्बुसिंह बोहरा र लीलाधर भट्ट बैठकमा अनुस्थित रहेका थिए ।


ताजा समाचार

spot_img