कञ्चनपुर
कञ्चनपुरमा हुलाकी राजमार्ग सडक निर्माण गर्ने म्याद सकिएको छ । निर्माण कार्यपनि चरम ढिलासुस्ती गरेकोे छ । सम्झौता अवधि भित्रै राजमार्ग निर्माणको जिम्मा पाएका दुवै कम्पनीले काम गर्न सकेका छैनन् । पहिलो पटक निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै काम सम्पन्न गर्ने सम्झौता भएको थियो । काँग्रेस नेता समेत रहेका परशुराम नगरपालिका मेयर भीम बहादुर साउदले संचालन गरेको शर्माजेभी निर्माण निर्माण कम्पनीले ठेक्का पाएको हो, ठेकेदार आफै जनप्रतिनिधी भएपनि कामलाइृ दुत गतिमा अघि बढाउन सकेका छैनन ।

समयमै सडक निर्माण नहुँदा दृर्घटनाका साथै बनेको समेत बिग्रीदै छ । दैनिक धुलाम्मे भईरहेको छ । सो अवधिमा पनि निर्माण कम्पनीद्वय बाबाहंससिद्धिकी र शर्माजेभी निर्माण कम्पनीले कालोपत्रेको काम गर्न सकेका छैनन् । १ फागुन ०७३ मा ३० महिनाभित्रै ६२ किलोमिटर सडक निर्माणका लागि दुवै कम्पनीले आयोजनासंग सम्झौता गरेका थिए । ३० भदौँ ०७६ मा पहिलो पटक सम्झौता गरिएको म्याद सकिएर फेरी ८ महिना थप गरेर ३० चैत्र ०७६ सम्म म्याद थप गरियो । पहिलो पटक म्याद सकिएर थप गएको अवधिमा समेत काम गर्न नसकेपछि फेरी दुवै कम्पनीले ८ र ४ महिना म्याद थप गरेका छन । ०७७ बैशाखदेखि पहिलो र तेस्रो फेजको काम पाएको शर्माजेभी निर्माण कम्पनीले ४ महिना र दोस्रो फेजको बाबाहंससिद्धिकी ८ महिना थप गरेपनि काम सकेका छैनन ।

म्याद सकिएको दुई पटक थप हुँदा पनि काम नसकेर हुलाकी राजमार्गको काम अलपत्र परेका छन । पहिलो र तेस्रो फेजको काम पाएको शर्माजेभी निर्माण कम्पनीले दोस्रो पटक म्याद सकिएको चार महिनासम्म पनि काम नसकेर फेरी म्याद थपका लागि फाईल पठाएको छ । भने, दोस्रो चरणको बाबाहंस सिद्धिकीको ०७७ मंसिर मसान्तमा काम सकिदैछ । ‘दुवै कम्पनीले म्याद थपका लागि फाईल पठाएका छन, ‘हुलाकी राजमार्ग आयोजना कम्पनीका ईन्जिनियर एव प्रवक्ता पदम मडैले भने, ‘९ औँ सार्वजनिक खरिद ऐन संशोधनबाट उहाँहरु पर्नु भएन, अब अर्को निर्णय पर्खिरहेका छौँ ।’
निर्माण कम्पनीले सम्झौता गरेको ४५ महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रीदै गएको छ । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किदै छ । दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर अलपत्र पारेकोछ ।

पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे भएको छ । तीन फेजमा ठेक्का भएको सडक पहिलो र तेस्रो फेज शर्माजेभी निर्माण कम्पनी र दोस्रो फेज बाबाहंससिद्धिकीले निर्माणको ठेक्का पाएका थिए । कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता अनुरुप चालु आर्थिक बर्ष २०७७/०७८ सम्म ६९ करोड भुक्तानी गरिएको छ । पहिलो फेज ३५ करोडमा गरिएको सम्झौता २४ करोड भुक्तानी, दोस्रो ४१मा २२ करोड र तेस्रो ४१ करोडमा २२ करोड रुपैयामा सम्झौता गरिएको भएपछि सम्झौता अनुरुप काम भएको छैन । हुलाकी राजमार्ग आयोजना कार्यालयले कुल ६२ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएका दुवै कम्पनीले ६८ प्रतिशत काम गरेको र ५० प्रतिशत भुक्तानी पाईकसेको जनाएको छ ।
हुलाकी राजमार्ग आयोजना कार्यालयका सुचना अधिकारी एव ईन्जिनियर पदम मडैले सालाखाला ६८ प्रतिशत काम सम्पन्न भईसकेको बताए । उनका अनुसार बेसदेखि कालोपत्रेको काम भईसकेको छ । ‘पहिलो फेजमा साढे ७ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भईसकेको छ, ‘उनले भने, ‘केही दिनमै १० किलोमिटर कालोपत्रेको तयारीमा छौँ, बाँकी ३ किलोमिटर हिउँदपछि गछौँ ।’ पहिलो फेजको ६२ प्रतिशत प्रगति भईसकेको उनले बताए ।दोस्रो फेजमा ३ किलोमिटर सडक कालोपत्रे र बाँकी बेस निर्माण भईसकेको बताउदै उनले सो फेजको ६५ प्रतिशत प्रगति भएको बताउदै १७ किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको बताए ।तेस्रो फेजमा ३ किलोमिटर सडक कालापत्रे र बाँकी बेस निर्माण कार्य सकिएको बताउदै उनले लगत्तै कालोपत्रे गरिने बताए । सो फेजको ७०प्रतिशत काम सम्पन्न भईसकेको छ । ‘कार्य प्रगति केबल कालोपत्रे मात्रै होईन, ‘सो कार्यसम्मका सबै चरण सक्नुपर्ने हुन्छ, ‘उनले भने, ‘बाँकी काम अब कालोपत्रे मात्रै बाँकी हो ।’
बाबाहंससिद्धिकीका संचालक चक्र शाहीले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारण काम ढिलाई भईरहेको बताउदै आएका छन् । भारतीय पक्षले सो क्षेत्रको १२सय मिटरमा मात्रै काम अवरोध गरेपनि बाँकी १८ ः२किलोमिटरमा अवरोध नभएपनि सो निर्माण कम्पनीले ढिलासुस्ती गर्दै आएको छ । शर्माजेभी निर्माण कम्पनीका ईन्जिनियर रोशन भट्टले सरकारी निकायबाटै अवरोध हुँदा म्याद भित्रै काम नसकिएको बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले १ बर्ष काममा अवरोध गरिदिएको थियो । भने बेलडाँडी क्षेत्रको ४ सयमिटर सिँचाईको जमिन विवाद, कोडिभका कारण ढिलासुस्ती भएको बताए । ‘यो आर्थिक बर्षभित्रै पुरै काम गछौँ, ‘उनले भने, ‘बेस बनिसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी हो ।’
हुलाकी राजमार्ग आयोजनाले उक्त सडक ० देखि २० किलोमिटर, २० देखि ४० र ४० देखि ६२ किलोमिटर सडक तीन चरणमा कालोपत्रे गर्ने ठेक्का दिएको थियो । सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन । स्थानीय दिनेश ठकुराठीले हुलाकी राजमार्गको काम गुणस्तहिन र ढिलासुस्ती भईरहेको बताए । उनले गैर जिम्मेबारीका कारण ढिलासुस्ती भईरहेको बताए । बेलौरीका स्थानीय युवा सुरेन्द्र राज जोशीले सडक निर्माण कार्य ढिलाई हुुँदा सडक छेउछाउका सडक हिलाम्मे भएका छन । कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिईएकोछ ।
