कञ्चनपुर

शुक्लाफाँटा नगरपालिका ८ का दुर्गम गाउँमा प्राथमिक स्वास्थ्य सेवा पुरयाउनका लागि छ जना महिला स्वास्थ्य स्वयंसेविका नियुक्त गरिएको छ । वडाको योजनाहरुको रकम बचत गरी छ जना स्वयंसेविका नियुक्त गरिएको हो ।
नयाँ नियुक्त गरिएका छ जना स्वयंसेवीकालाई आज साईकल, एन्ड्रोइड मोवाईल सेट, पोशाक र झोला वितरण गरिएको छ । वडाको आन्तरिक श्रोतबाट सेवा सुविधा दिने गरी स्वयंसेविका नियुक्त गरी आवश्यक सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष बहादुर सिंह महराले बताउनु भयो ।

वडा अध्यक्ष महराका अनुसार स्वास्थ्य सेवा पुग्न नसकेका भमरभोज, मणिकाधाम टोल र नौखरी मुक्त कमैंया शिविरमा महिला स्वास्थ्य स्वयंसेविकाको व्यवस्था गरिएको छ । “धेरै पहिला देखिनै नगर स्वास्थ्य कार्यालयमा स्वयंसेवीकाको माग गर्दै आएका थियौं” वडा अध्यक्ष महराले भन्नु भयो, “सुनवाई हुन नसकेपछि वडाबाटै बजेट व्यहोर्ने गरी स्वयंसेवीका नियुक्त गरी स्थानियलाई प्राथमिक स्वास्थ्य सेवामा पहुँच पुरयाईएको छ ।” महिला स्वास्थ्य स्वयंसेवीकाले स्वास्थ्य बारे जनचेतना फैलाउने, गर्भवती महिलाहरुलाई नजिकको स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ्ग सेन्टरमा पुरयाउने, खोप सेवालाई प्रभावकारी रुपमा लागु गर्ने लगायत रहेका छन । स्वयंसेवीका जानकी सार्कीले स्वास्थ्यको पहुँच नभएको यस क्षेत्रमा प्राथमिक उपचार सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनु भयो ।

समाजमा विद्यमान अन्धविश्वास र कुरिति हटाउनका लागि प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले धेरै महिलाहरु घरमै असुरक्षित तरिकाले सुत्केरी हुदै सरकारी प्रोत्साहन कार्यक्रम बारे जानकारी दिदै स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिदाका फायदा बारे जानकरी दिई स्वास्थ्य चौकीमा पुरयाउने कार्य गरिने बताउनु भयो । नियमित खोप सेवालाई समेत प्रभावकारी बनाउन भूमिका खेल्ने महिला स्वयंसेवीकाहरुले बताउनु भयो । तीन वटै गाउँमा झण्डै एक हजार बढी घरधुरी रहेको छ ।






