धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्थानीय स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै आर्थिक उपार्जन तथा रोजगारी सिर्जना गर्नु प्रदेश सरकारको नीति र प्राथमिकता रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित विकास साझेदार संघ संस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले विकास निर्माणको स्पष्ट लक्ष्य, दृढ इच्छाशक्ति र उपयुक्त दृष्टिकोणमार्फत प्रदेशलाई समृद्ध बनाउन सकिने बताउनुभयो । उद्यमशीलता र नवप्रवर्तनका कार्यक्रममार्फत आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमलाई प्रभावकारी र सफलतापूर्वक कार्यान्वयन गर्न विकास साझेदार संस्थाहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।

अर्थतन्त्रको सबलीकरण आजको आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले विशेषगरी पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्न, विपद्बबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारी गर्न र स्थानीय स्तरमै स्वरोजगारका अवसर सिर्जना गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।प्रदेश सरकार विकास साझेदार निकाय, गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) सँग सहजकर्ता, साझेदार र संरक्षकका रूपमा सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।

प्रदेश नीति तथा योजना आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको विकास र समृद्धिको अभियानलाई सफल बनाउन सरकार, निजी क्षेत्र तथा विकास साझेदार सबैको सहकार्य र योगदान आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्ण प्रकाश भट्ट, सदस्य हिरा चन्दसहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा कार्यरत गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।










