डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जनताको विकासप्रतिको उत्कट चाहना अझै पूरा हुन नसकेको बताउनुभएको छ। उहाँले विगतका कामको गम्भीर समीक्षा गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन देखिने गरी विकासका योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।जिल्ला समन्वय समिति डडेल्धुराको दशौँ जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले जनताको अपेक्षाअनुसार राज्यका संयन्त्रले काम गर्न नसकेको स्वीकार गर्दै अब कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताउनुभयो।

“जनताको चाहना पूरा भएको छैन, अब गम्भीर समीक्षा गर्ने बेला भएको छ,” मुख्यमन्त्री भट्टले भन्नुभयो, “जनताको करबाट सञ्चालन हुने राज्य जनताको पक्षमा काम गर्नुपर्छ।” उहाँले आगामी बजेट विगतका सबै बजेटभन्दा प्रभावकारी र जनमुखी हुने दाबी गर्नुभयो। बजेटको प्राथमिकता निर्धारण गर्दा जनताको दैनिक जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने विषयलाई केन्द्रमा राखेर स्रोतको व्यवस्थापन गरिने उहाँको भनाइ छ।

मुख्यमन्त्री भट्टले जनप्रतिनिधि र कर्मचारीले अझै पनि जनताको पूर्ण विश्वास जित्न नसकेको बताउँदै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। जनताले तिरेको राजस्व दुरुपयोग भएको छैन भन्ने विश्वास दिलाउने गरी काम गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो। उहाँले पारदर्शिता, सुशासन र निष्ठालाई व्यवहारमै स्थापित गर्ने गरी सबैले संकल्प गर्नुपर्ने बताउनुभयो। राज्यबाट प्रवाह हुने सेवा र विकास निर्माणका काममा जवाफदेहिता कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

मुख्यमन्त्री भट्टले राजनीतिक मतभिन्नता भए पनि विकास निर्माणका सवालमा सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। विकासका मुद्दामा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर एकता र सहकार्य कायम गर्नुपर्ने उहाँको भनाइ थियो। “राजनीतिक मतभिन्नता आफ्नो ठाउँमा हुन्छ, तर विकासका सवालमा एकताबद्ध भएर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “जनताको जीवनमा परिवर्तन ल्याउने विकासका लागि सबैको साझा संकल्प आवश्यक छ।” मुख्यमन्त्री भट्टले प्रदेश सरकारले जनताको अपेक्षा र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।










