कञ्चनपुर : महिला पतञ्जली योग समिति कञ्चनपुरको आयोजनामा हरितालिका तीज तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ। ‘नारीको सम्मान, संस्कृतिको पहिचान’ भन्ने नारासहित आयोजित कार्यक्रममा जिल्लाका विभिन्न योग केन्द्रमा आबद्ध करिब १८० जना महिलाको सहभागिता रहेको थियो।

भाद्र ६ गते शनिबार वेदकोट नगरपालिका–स्थित सुडामा रहेको कञ्चन ब्याङ्क्वेट्स एन्ड कन्भेन्सन्सको हलमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी विभिन्न योग केन्द्रका महिलाहरूले आ–आफ्नो केन्द्रको तर्फबाट नृत्य तथा देउडा प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए।

महिला पतञ्जली योग समिति कञ्चनपुरकी अध्यक्ष भावना केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिद्धनाथ विज्ञान क्याम्पसकी पूर्व क्याम्पस प्रमुख डा. तिलमाया ढकाल खरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन समितिकी महासचिव गोबिन्दी बमले गर्नुभएको थियो भने कञ्चनपुर पतञ्जली योग समितिका अध्यक्ष दयाकृष्ण जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. ढकालले पछिल्लो समय तीजका नाममा विभिन्न विकृति बढ्दै गएकाले त्यसलाई रोक्दै तीजको मौलिकता, परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो। उहाँले विगतमा तीजले महिलाका दुःख, पीडा तथा सामाजिक समस्यालाई उजागर गर्दै महिलाको सशक्त आवाजका रूपमा भूमिका खेलेको उल्लेख गर्नुभयो। साथै तीजका नाममा मादक पदार्थ सेवन गर्ने तथा अश्लील नृत्य प्रदर्शन गर्ने जस्ता गतिविधि रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यसैगरी कार्यक्रमकी सभापति भावना केसीले तीजको अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमले महिलाहरूलाई घरायसी कामबाट केही समय छुटकारा दिई मनोरञ्जन तथा आपसी भेटघाटको अवसर प्रदान गर्ने बताउनुभयो। यस्ता कार्यक्रमले दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुका साथै महिलाहरूको आवाजलाई सशक्त बनाउन सहयोग गर्ने उहाँको भनाइ थियो। यस कार्यक्रमले तीजको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै महिलाबीचको आपसी सद्भाव, एकता र सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ।










