बस दुर्घटनाका घाइतेको प्रभावकारी उपचार, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग


पुष्प भट्ट/ कञ्चनपुर : बस दुर्घटनामा गम्भीर घाइते भएका दुई महिलाको उपचारमा लापरबाही भएको आरोप लगाउँदै जनज्योति बहुमुखी क्याम्पस, कञ्चनपुरका विद्यार्थीहरूले शुक्रबार महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनपछि उनीहरूले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउँदै घाइतेहरूको प्रभावकारी उपचार, दुर्घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।

गत वैशाख २८ गते काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको खप्तड मालिका यातायात प्रालिको बस (ना ८ ख १९४९) बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत २२ वर्षीया उर्मिला भट्ट र ३३ वर्षीया नीलम ओझा भट्ट गम्भीर घाइते भएका थिए। दुर्घटनामा उर्मिला भट्टका दुवै हात भाँचिएका छन् भने नीलम ओझा भट्टको एउटा हात भाँचिनुका साथै टाउकोमा गम्भीर चोट लागेको छ। विद्यार्थीहरूको आरोपअनुसार दुर्घटनापछि घाइतेहरूले समयमै आवश्यक उपचार पाउन सकेनन् र उपचार प्रक्रियामा समेत लापरबाही भएको छ।

उनीहरूका अनुसार दुर्घटनाको दिनदेखि नै पीडित परिवार न्यायको खोजीमा रहे पनि सम्बन्धित अस्पताल, यातायात कम्पनी र बीमा कम्पनीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेका छैनन्। दुर्घटना भएको दुई महिना बितिसक्दा पनि दुवै घाइतेको उपचार पूरा हुन सकेको छैन भने आवश्यक आर्थिक सहयोग पनि उपलब्ध गराइएको छैन। हालसम्म घाइतेहरूको उपचारमा करिब ५० देखि ६० लाख रुपैयाँ खर्च भइसकेको छ। उपचार सम्पन्न गर्न अझै ४० देखि ५० लाख रुपैयाँ थप खर्च लाग्ने अनुमान गरिएको छ। सम्बन्धित निकायबाट आवश्यक आर्थिक सहयोग नपाउँदा उपचार प्रक्रिया प्रभावित भएको र केही उपचार बीचमै रोकिएको विद्यार्थीहरूको भनाइ छ।

विद्यार्थीहरूले उपचारका क्रममा खाली कागजमा हस्ताक्षर गराइएको, प्रभावकारी उपचारको आश्वासन दिए पनि त्यसअनुसार काम नभएको तथा पीडित परिवारलाई पटक–पटक मानसिक दबाब र धम्कीको वातावरण सिर्जना गरिएको आरोप समेत लगाएका छन्। हाल एक जना घाइतेको मेडिसिटी अस्पताल र अर्कीको नेशनल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवार अहिले उपचार खर्च धान्न नसक्ने अवस्थामा पुगेको विद्यार्थीहरूले बताएका छन्। उनीहरूले बस चालक, बस सञ्चालक, यातायात कम्पनी तथा बीमा कम्पनीमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न, घाइतेहरूको सम्पूर्ण उपचार खर्च सम्बन्धित पक्षबाट व्यहोर्न र पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img